Shittalpati
तानसेनमा दीर्घरोगी र वृद्धवृद्धालाई निः शुल्क स्वास्थ्य सेवा

कृष्ण पोखरेल
पाल्पा, दिर्घरोगी र वृद्धवृद्धालाई लक्षित गरी तानसेनको बसन्तपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । घर–घर, टोल–टोलमा नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा अभियान अन्र्तगत तानसेन नगरपालिका –३ वडा कार्यालयले कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

व्यवस्त जीवनशैली, अस्वस्थ्कर खाना, जंगफुडको बढ्दो प्रयोगका कारण समाजमा अहिले सुगर, प्रेसरका रोगीहरु अत्याधिक बढ्दै गएकाले उनीहरुलाई प्रत्यक्ष रुपमा मुटुमा असर गर्ने भएकाले वडा कार्यालयले मधुमेह, उच्चरक्ताचाप र मुटुरोगीलाई केन्द्रीत गरी शिविर सञ्चालन गरेको हो । ४० बर्ष उमेर माथिका अधिकाशं व्यक्तिहरुलाई सुगर, उच्चरक्ताचाप रहेको, स्वास्थ्य बिमाको झन्झटिलो प्रक्रियाका कारण विरामीहरु रोग लुकाएर बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न, रोग लागेका विरामीहरुलाई औषधी उपचारका कारण दीर्घजिवी बनाउन, रोग नलागेका व्यक्तिहरुलाई समय –समयमा चेकजाँच गरी पूर्व सावधानी अपनाउनु पर्छ भन्ने आम वडावासाीहरुलाई जनचेतना जगाउन स्वास्थ्य शिविर सञ्चालन गरिएको वडा अध्यक्ष बाबुरत्न शाक्यले जानकारी दिए ।

निर्वाचनको समयमा अधिकाश वृद्धवृद्धा दीर्घरोगीहरुले वडामा समय–समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न माग गरेको र आफ्नै घर टोलमा स्वास्थ्य शिविर सञ्चालन भएपछि अस्पताल जान नसकेका वृद्धवृद्धा, अपाङ्ग, शारिरिक अशक्त भएका व्यक्तिहरुलाई टोल–टोलमा चेकजाँच र औषधी उपचारले विरामीको आयु बढाउन मद्दत मिलोस् भनी यो अभियाना चलाएको अध्यक्ष शाक्यले बताए । अभियानलाई हरेक महिनाको अन्तिम शुक्रबार दुई जना चिकित्सक राखेर चेकजाँच र औषधी वितरण गर्ने तयारीमा वडा कार्यालय रहेको अध्यक्ष शाक्यले बताए । स्वास्थ शिविरमा चेकजाँच गरेका तानसेन नगरपालिका– ३ भगवतीटोलका अनमोल श्रेष्ठले स्थानीय वडा सरकारले आफुजस्ता दीर्घरोगीहरुलाई घरदैलोमै उपचार सेवा प्रदान गरेकोमा खुसी व्यक्त गरे । उनले चेकजाँचसँगै निःशुल्क औषधी समेत पाएको बताए । वडामा पहिलो पटक सञ्चालन भएको स्वास्थ्य शिविर अन्य महिनामा पनि सञ्चालन गर्न श्रेष्ठले वडा कार्यालयलाई अनुरोध गरे ।

स्थानीय सरकार भनेको घरदैलोको सरकार हो, सरकारले बाटो खन्ने भवन बनाउने काम मात्र नगरी मानव स्वास्थ्यसँग प्रत्यक्ष प्रभाव पार्ने खालका जनचेतनामुलक तथा स्वास्थ्य शिविर सञ्चालन गर्नु हाम्रजस्ता दीर्घरोगी वृद्धहरुको लागि ठूलो सहयोग पुगेको बसन्तपुरका आनन्द बुढाप्रितिले बताए । अहिले स्वास्थ्य बिमाका कारण आफुहरुले निकै दुःख पाएको उनले गुनासो समेत गरे । स्वास्थ्य शिविरमा वृद्ध–वृद्धा लोरोको सहारामा चेकजाँच गर्न पुगेका छन् । स्वास्थ्य शिविरमा निःशुल्क रुपमा सुगर, प्रेसर, मुटुको चेकजाँच तथा ईसीजी गरेर औषधी पाएको मायाँ चौहानले बताईन । शिविरमा लुम्बिनी मेडिकल कलेजका चिकित्सकले सेवा प्रदान गरेका थिए भने शिविरको व्यवस्थापनमा संगमपथ दिदी बहिनी समुहले सहयोग गरेका थिए । शिविरमा ३ सय वडावासीलाई स्वास्थ्य चेकजाच गरी औषधी वितरण गरिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update