Shittalpati
पाल्पामा आमा सुरक्षा कार्यक्रम पुनः सञ्चालन

कृष्ण पोखरेल
पाल्पा, पाल्पामा निःशुल्क रुपमा आमा सुरक्षा कार्यक्रम लागु भएको छ  । २ वर्षदेखि बन्द अवस्थामा रहेको आमा सुरक्षा कार्यक्रम यही भदौ १५ गतेदेपख पुनःसञ्चालनमा आएको हो । तानसेन नगरपालिकाको कार्यालय र लुम्बिनी मेडिकल कलेज बिच आमा सुरक्षा कार्यक्रम सम्झौता भएपछि सुत्केरी हुने गर्भवती महिलाहरुलाई राहत मिल्ने भएको हो । आमा सुरक्षा कार्यक्रम तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा सिंजाली, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपाने, र लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोखरेल, कम्पनी सचिव निर्दाेश खनाल, मेडिकल सुपरिडेन्टेन डा.राजु शाक्य, कलेजका प्रवक्ता कृष्णप्रसाद पराजुली र पत्रकार सहितको रोहवरमा सम्झौता भएको हो ।

आमा सुरक्षा कार्यक्रम लागु भएपछि मेडिकल कलेजमा सुत्करी हुन जाने महिलाहरुको अस्पतालमा प्रवेश गरेपछी औषधि उपचारमा लाग्ने सबै किसिमको उपचार खर्च निःशुल्क हुने तानसेन नगरपालिकाले जनाएको छ । सामान्य अवस्थाको सुत्केरी गराउनेदेखि अपरेशन सम्मको अवस्था पूर्णरुपमा निःशुल्क हुनेछ । निःशुल्क उपचारसँगै सुत्केरी हुने महिलाले २ हजार देखि २ हजार ८ सय रुपैयाँसम्म बाटा खर्च समेत पाउने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।

जस अनुसार नर्मल सुत्केरीका लागि २ हजार ५ सय रुपैयाँ, जटिल अवस्थाको सुत्केरीका लागि ४ हजार रुपैयाँ, अपरेशन गर्नुपर्ने सुत्केरीको १० हजार रुपैयाँ र एनटिडी सुत्केरीको सेवाका लागि १० हजार रुपैयाँ शुल्क नेपाल सरकारले तोकेको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । कलेजमा सुत्केरी हुने महिलाको विवरण सहित महिना सकिएपछि तानसेन नगरपालिकामा प्रतिवेदन पेश गरी तानसेन नगरपालिकाबाट कलेजलाई रकम भुक्तानी हुने स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताए । आमा सुरक्षा कार्यक्रमको सुविधा सबै गर्भवती महिलाहरुका लागि खुला रहेको भुगोलको कुनै बन्देज नहुने, जुन सुकै स्थानसँगै भारतीय महिलाहरुले समेत पाउने छन् । आमा सुरक्षा कार्यक्रम युनाइटेड मिसन अस्पताल र जिल्ला अस्पताल तानसेन पाल्पामा लागुगर्ने तयारीका लागि पत्रचार गरिएको तानसेन नगरपालिकाले जनाएको छ । यो सम्झौता २०८० असार मसान्तसम्म लागु हुनेछ ।

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update