Shittalpati
आपत्कालिन स्वास्थ्य प्रतिकार्य निर्माणमा रेडक्रस

कृष्ण पोखरेल
पाल्पा, नेपालमा दिनहुँ स्वास्थ्य विपद्का घटनाहरु बढ्दै गएपछि नेपाल रेडक्रस शोसाईटी पाल्पाले तानसेन नगरपालिकासँग समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आपत्कालिन स्वास्थ्य कार्यक्रम तथा आपत्कालिन स्वास्थ्य प्रतिकार्य योजना तर्जुमा कार्यक्रम गरेको छ । रेडक्रस पाल्पाले सन् २०१७ देखी रिब्दीकोटको फेकबाट शुरु गरेको समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिकता उपचार कार्यक्रम तानसेन नगरपालिका र तिनाउ गाउँपालिकामा सञ्चालन गर्दै आएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस शोसाईटीका उप निर्देशक शिवराम गौतमले तानसेन नगरपालिकामा विगत डेढ वर्षदेखि समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार कार्यक्रम सञ्चालन गर्दै आएको बताए । कुनै पनि स्वास्थ्य विपदलाई व्यवस्थित गर्न विपद् पूर्व तयारी जरुरी रहेको बताउँदै उप निर्देशक गौतमले विपद् पूर्व तयारीका लागि तानसेन नगरपालिकालाई रेडक्रसले प्राविधिक रुपमा सहयोग गर्ने बताए । रेडक्रसले स्वास्थ्य विपद् कोष स्थापनाका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने, अन्य रकम नगरपालिका र वडाबाट म्याचिङ गर्नुपर्ने उप निर्देशक गौतमले बताए । जतिबेला पनि स्वास्थ्य जटिलता, महामारी आउन सक्ने भएकाले आपतकालिन स्वास्थ्य प्रतिकार्य योजना निर्माण आवश्यक रहेको उपनिर्देशक गौतमले बताए । कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरवासीको रक्षा गर्न, नगरवासीलाई स्वस्थ राख्न, विरामी हुँदा उपचारका लागि स्वास्थ्य विपद् प्रतिकार्य योजना निर्माण गरी सबैपक्षको सहयोगमा कार्यान्वयन गरिने प्रतिवद्धता जनाए । नितान्त नगरपालिकाले गर्ने काम रेडक्रसको सहयोग पाएका छौं यस्तो अवस्थामा नगरसँग बजेट नभए पनि ऋण खोजेर भएपनि स्वास्थ्य विपद् व्यवस्थापन कोष निर्माण गर्ने नगर प्रमुख श्रेष्ठले बताए ।

कार्यक्रममा तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिंजालीले स्वास्थ्य क्षेत्र नेपाली जनताको मैलिक अधिकार भएकाले स्थानीय सरकारले सक्रिय रुपमा जिम्मेवार भई प्रतिकार्य योजना निर्माण र कार्यान्वयनमा पूर्ण सहयोग गर्ने बताइन् । अहिले सबैको ध्यान पूर्वाधार निर्माणमा मात्र गएकाले स्वास्थ्य क्षेत्रमा नगर सरकारले ध्यान दिने उपप्रमुख सिंजालीले बताइन् । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्रकुमार गिरीले एक्लो निकायबाट प्रतिकार्य योजना अनुसार सबै जिम्मेवार निकायबाट कामको बाडफाँड गरी जिम्मेवारी लिनु र दिनुपर्ने बताए । सबैको सहयोगबाट स्वास्थ्य विपद् व्यवस्थापन गर्न सहज रुपमा सकिने डा.गिरीले बताए । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले रेडक्रसले विपद् प्रतिकार्य योजना निर्माणमा सहयोग गरे पनि प्रमुख रुपमा कार्यान्वयन तानसेन नगरपालिकाबाट हुनुपर्ने बताए । कार्यक्रममा स्वास्थ्य विपद् प्रतिकार्य योजना निर्माणमा जिम्मेवारी बाँडफाँडको विषयमा समुहगत छलफल गरिएको थियो । नेपाल रेडक्रस पाल्पाका सभापती बुद्धिप्रसाद शर्माको सभापतित्व, उपाध्यक्ष शोभा शाक्यको स्वागत र कार्यक्रम अधिकृत विनोद भारतीको सञ्चालनमा कार्यक्रम भएको भएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update