Shittalpati
पाल्पामा थप २७ जना संक्रमितले कोरोना जिते

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप २७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १७ जना महिला र १० जना पुरुष संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका १२ जना, माथागढी गाउँपालिकाका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका ३/३ जना, रामपुर नगरपालिकाका २ जना र पूर्वखोला गाउँपालिकाका १ जना संक्रमित कोरोनामुक्त भएको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या १२ हजार ४ सय ८ पुगेको छ । जसमा ५ हजार ६ सय ९१ महिला र ६ हजार ७ सय १७ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गर्दा १ जनामा पनि संक्रमण देखिएको छैन । यस्तै एन्टिजेन परीक्षणमा ८ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । जसमा तानसेन नगरपालिकाका ६ जना, रिब्दीकोट गाउँपालिका र माथागढी गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार ७ सय १५ पुगेको छ । जहाँ २ हजार ९ सय ८१ जना महिला र २ हजार ७ सय ३४ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा अहिलेसम्म ६६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६४ जना होम आइशोलेसन र २ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट ४ हजार ९ सय ४९ नमूना परीक्षण गर्दा ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ हजार ७ सय ५७ र एन्टिजेनबाट २ हजार १ सय ९२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३ सय ४३ र एन्टिजेनबाट २ सय ९१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ४ सय १७ जना कोरोनामुक्त भएका छन् । कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार २ सय २१ पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update