Shittalpati
रोजगारमूलक शिक्षा आवश्यक

नेपालको शिक्षा व्यवहारिक र जीवनपयोगी हुन सकेको छैन । हाम्रो शिक्षा गरिखानेभन्दा पनि ठगी र मागिखाने जनशक्ति उत्पादनतिर लक्षित भएको गुनासो सत्यताको नजिक पाइन्छ । समयको मागअनुसार देश तथा विदेशका श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति आजको आवश्यकता हो । तर त्यसतर्फ कसैको पनि ध्यान जान सकेको छैन । रोजगारीका लागि भौंतारिने भन्दा पनि रोजगार सिर्जना गर्न सक्ने प्रतिभाशाली शिक्षा जनशक्ति उत्पादन गर्ने शिक्षाले मात्र बेरोजगारी समस्याको हल गर्न सक्छ । प्राविधिक शिक्षाले स्वरोजगारका अवसरहरू प्राप्त गर्न सहजता प्रदान गर्छ, तर कुन क्षेत्रको कस्ता प्राविधिक कति चाहिन्छ भन्ने भविष्यदर्शी योजनाको अभाव र हचुवाको भरमा कार्यक्रम ल्याउने प्रवृत्तिको कारणले पनि आवश्यक प्राविधिक जनशक्तिको अभाव खट्किएको छ ।
नेपालको शिक्षा व्यवहारिक ज्ञानभन्दा बढी सैद्धान्तिक भयो भन्ने कुरा वर्षौंदेखि छलफलमा रहेको विषय हो । त्यही भएर विश्वविद्यालयको डिग्री प्राप्त गरेका कैयनलाई व्यावहारिक ज्ञानको अभाव हुने गरेको छ । तर, पछिल्ला दिनमा भने केही सुधार हुँदै गएको छ । यद्यपि शिक्षालाई जीवनोपयोगी बनाउन गर्नुपर्ने काम थुप्रै छन् । केही वर्षयता नेपालमा व्यवस्थापन विषयको अध्ययनतर्फ युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । तर, व्यवस्थापनका व्यावहारिक पक्षबारे पर्याप्त रूपमा सिकाउने व्यवस्थापन कलेजहरूको भने अझै अभाव देखिन्छ । रोजगारमूलक र व्यवस्थापन शिक्षालाई सँगसँगै लैजान सक्ने खालको व्यवस्थापन शिक्षा नेपालका लागि आवश्यक छ । मुलुकको समृद्धिका लागि दक्ष जनशक्तिको आवश्यकता पर्छ । नेपालमा अहिले पनि प्राविधिक जनशक्तिको उत्पादन न्यून छ । देशको आवश्यकताका लागि मात्रै नभएर ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने युवाहरूको आय आर्यजनमा समेत वृद्धि गर्न योजनाबद्ध प्राविधिक शिक्षा आजको आवश्यकता हो । यसर्थ रोजगारका लागि भौतारिनेभन्दा पनि रोजगार दिनसक्ने सिर्जनात्मक ताकत भएको जनशक्ति उत्पादन गर्ने राज्यको स्वरोजगारमुखी
शिक्षा आवश्यकता छ । त्यसतर्फ तीनै तहका सरकारले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update