Shittalpati
भुक्तानी निकासा रोकियो

पाल्पा, चालु आर्थिक वर्ष २०७८/०७९ को भुक्तानी निकासा रोकिएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई रोक्न निर्देशन दिएसँगै आजदेखि बजेट निकासा तथा भुक्तानी प्रक्रिया रोकिएको हो । चालु आर्थिक वर्षको वार्षिक खाताबन्दीको क्रममा प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्रणालीहरू शनिबार राति १२ बजेबाट बन्द भएकाले बजेट निकासा तथा भुक्तानी प्रकिया रोकिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले कार्यालयले शुक्रबारको निर्णयअनुसार कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई निकासा रोक्न निर्देशन दिएको थियो । उसले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को व्यवस्थाअनुसार निर्देशन दिइएको हो । नियमावलीमा विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकम बाहेक भुक्तानी दिनुपर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिन अगावै भुक्तानी निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था उल्लेख छ । केही निश्चित प्रयोजनको बिल भने भुक्तानी हुने व्यवस्था नियमावलीमा छ ।

राजस्व संकलन न्यून

चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व संकलन हुनसकेको छैन । महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल १० खर्ब ७० करोड ४१ लाख बराबर राजस्व संकलन भएको छ । चालु आव सकिन अब एक साता बाँकी छ । सरकारले चालु आवमा कूल ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयका अनुसार हालसम्म कूल लक्ष्यको ८४.७६ प्रतिशत बराबर राजस्व संकलन भएको छ त्यसमा कर राजस्व कूल नौ खर्ब २६ अर्ब ५० करोड ७० लाख बराबर संकलन भएको छ । यो कूल लक्ष्यको ८६.७५ प्रतिशत बराबर हो ।

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update