Shittalpati
बगनासकाली ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।पालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार र कोभिड खोप सुनिश्चित गरे पछि पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

पालिकाले पालिकाभरका सम्पूर्ण बालबालिकाले खोप पाए नपाएको बारेमा सर्वेक्षण गरेको थियो । प्रत्येक वडामा अभियान सञ्चालन गरेर खोप प्राप्त गर्ने उमेरका बालबालिकाहरुलाई खोप लगाउने र ९ वटा वडा रहेको यस पालिकामा खोप केन्द्रबाट नियमित खोप सेवा दिने ग्यारेन्टी गरिसकेपछि मंगलबार पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको पालिका अध्यक्ष सरस्वती चिदीले बताइन् । उनले भनिन् ‘खोप सेवा प्राप्त गर्नु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो, उनीहरुको अधिकारलाई पालिकाले सुनिश्चित गरेको हो ।’

एक औपचारिक कार्यक्रमका बिच पालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । कार्यक्रममा पालिकालाई कोभिड–१९ को पूर्ण सुनिश्चितताको प्रमाणपत्र जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरी र नियमित खोप पूर्ण सुनिश्चितताको प्रमाणपत्र जिल्ला समन्वय समितिका उपप्रमुख काशिका ज्ञवालीले हस्तान्तरण गरेका थिए । प्रमाण पत्र वितरण गर्दै उनीहरुले घोषणा गर्ने मात्र नभएर आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिन सक्नुपर्ने बताएका थिए । उनीहरुले पूर्ण खोप घोषणालाई दीगोरुप दिन पालिकालाई आग्रह समेत गरे । सबैको सहयोग र साथका कारण पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सफल भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले बताए । उनले भने ‘विशेष गरी स्वास्थ्यकर्मीहरूको सक्रियताका कारण यो सम्भव भएको हो, यो मेहनतका लागि धन्यवाद दिन चाहन्छु ।’ पालिकाले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानको उच्च मूल्याङ्कन समेत गरेको प्रमुख प्रशासकिय अधिकृत घर्तीले बताए । पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकांक पुरा गर्नु पर्ने हुन्छ । गाउँपालिकालाई नियमित खोप शतप्रतिशत र कोभिड –१९ खोपका लागि ९८ प्रतिशत सूचकांक पुरा गरेर पूर्ण खोप सुनिश्चितता पालिका घेषणा गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले एनजेडीलाई बताए ।

उनका अनुसार पालिकाले १६ महिनादेखि २३ महिना भित्रका २ सय २६ बालबालिकाहरुले पूर्ण रुपमा नियमित खोप लगाएका छन् । ३ सय १ जना १५ महिना भित्रका बालबालिकाहरुले भने खोप लगाउदै गरेको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए । यहाँ कोभिडको पहिलो खोप १५ हजार २ सय ७१ जनाले लगाएका छन् । दोस्रो खोप १५ हजार २ सय ४७ र बुस्टर खोप १० हजार १ सय ६३ जनाले लगाएको अधिकारीले बताए । पालिकाले ५ वर्षदेखि ११ वर्ष भित्रका बालबालिकाहरुलाई छिट्टै फाइजर खोप लगाउने उनले एनजेडीलाई जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update