Shittalpati
बाढी पहिरोसँगै सरुवा रोगको जोखिम

असार, साउन महिना बर्खाको समय हो । बर्खा लाग्नु भनेको खेतीपातीको याममात्रै होइन यो विपद् र सरुवा रोगको प्रकोप देखा पर्ने याम पनि हो । नेपालमा बर्सेनि बाढी पहिरोको विपद् नियमित जस्तो छ । जसको पूर्वानुमान स्वतः गर्न सकिन्छ । यो समयमा बाढी, पहिरोको जोखिम मात्र हुँदैन विभिन्न किसिमका सरुवा रोग समेत हुने गर्दछ । यति बेला बाढी पहिरोका कारण धेरैको घरहरु विस्थापित भए भने कतिले ज्यान समेत गुमाएका छन् । अझ यो समयमा पिउने पानीको मूलस्रोत नै दूषित हुँदा झाडापखाला, टाइफाइड, हेपाटाइटिस, आउँलगायतका पानीजन्य सरुवा रोगहरु देखिन थालेका छन् । मानव समुदायले बाढीपहिरो र डुबानजस्ता विपत्तिको सामना गर्नु परेको छ नै त्यसमाथि सरुवा रोगको जोखिम समेत बेहोर्नु दुखद् हो । वर्षाको भेलले पानीको मुहान प्रदूषित हुन गई दूषित पानी र खानाका कारण सरुवा रोगका बिरामी बढ्न थालेका छन् । यसवर्षको वर्षायामको सुरूवातमै काठमाडौँमा झाडापखाला र हैजाजस्ता सरुवा रोगको संक्रमण देखिएको छ । वर्षाद्का बेला सरुवा रोगका बिरामी अझै बढ्न सक्ने भएकाले उच्च सर्तकता अपनाएर स्वच्छ पानी र खानेकुरामा विशेष ख्याल राख्न चिकित्सकहरुले सुझाएका छन् ।

दूषित पानीका कारण हेपाटाइटिस ए, सी र ई तथा झाडापखालाका साथै निरन्तर वर्षाका कारण पानी, कीट र हावाजन्य रोगको जोखिम पनि उत्तिकै बढाएको छ । वर्षाद्का बेला अधिकांश पानीको मुहान दूषित बनेको छ । खानेपानीको समस्याले गर्दा कतिपयले बाध्यतावश दूषित पानी पिइरहेका हुन्छन् । वर्षायाममा पानीका मुहान दूषित हुने र जताततै पानी जम्मा हुने कारण किटाणुको प्रकोप पनि बढी हुन्छ । जसले डेँगु, मलेरिया, आँखा पाक्ने, टाइफाइड, भाइरल ज्वरो, निमोनिया, हैजा र झाडापखालाजस्ता रोगहरु निम्त्याउने गर्दछ । विशेषगरी वर्षाद्को बेला पानी उमालेर पिउने बानी बसाल्ने हो भने सरुवा रोगको संक्रमणबाट जोगिन सकिन्छ । टाइफाइड, हैजा, आउँ, झाडापखाला र रुघाखोकीजस्ता सरुवा रोग दूषित पानी, हावा र खानाको माध्यमबाट सर्ने गर्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्ने रोग भएकाले यसको समयमा उपचार हुन नसके बिरामीको मृत्युसमेत हुनसक्छ । तसर्थ बाढी पहिरोसँगै दूषित पानीका कारण हुन सक्ने सरुवा रोगको जोखिमबाट बच्न उच्च सर्तकता अपनाउन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update