Shittalpati
संक्रमण बढ्यो : तीन सय चौध कोरोना संक्रमित


पाल्पा, नेपालमा पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेको छ । भारतमा संक्रमण बढ्दै गएपछि त्यसको असर नेपालमा पनि परे हो । यहाँ स्वास्थ्यका मापदण्ड पालना नगरेका कारण संक्रमणको ग्राफ बढ्दै गएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या तीन सय चौध पुगेको छ । शनिबार थप ४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या तीन सय चौध पुगेको हो । शनिबार २ हजार ४ सय ६७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३३ र एन्टिजेन विधिबाट ११ जनामा संक्रमण पुष्टि भएका हो । यसमध्ये सबैभन्दा बढी काठमाडौँमा २३ जना रहेका छन् । यही अवधिमा थप १६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७ हजार २ सय ३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म कोभिड १९ को संक्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भइसकेको छ । ०.५ प्रतिशतसम्म झरेको संक्रमणको दर अहिले ६ प्रतिशत पुगेको छ । भारतमा जुन हिसाबले संक्रमण बढेको छ सोहीअनुसार नेपालमा पनि अहिले संक्रमण बढेको हो ।

भारतबाट नेपालमा आउने मानिसमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संक्रमण बढिरहेकाले सर्तकता अपनाउन भनेको छ । संक्रमण बढेसँगै भारतबाट नेपाल आउनेमा कोरोना परीक्षण सुरु गरिएको छ । कोभिड–१९ संक्रमणको पछिल्लो अवस्थाले फेरि अर्को लहर निम्तिन सक्ने त्रास पैदा भएको छ । तर, अहिले देखिएको संक्रमणकै आधारमा अर्को लहर भित्रिने सम्भावना भने कम रहेको विज्ञहरू बताउँछन् । पछिल्लो समय कोभिड–१९ विरुद्धको खोप ठूलो जनसंख्याले पाइसकेको हुँदा फेरि संक्रमण पहिलेको जस्तै उच्च हुने सम्भावना कम देखिएको उनीहरुको भनाई छ । केही दिनयता नाकाहरूबाट आउनेमध्ये दैनिक सरदर ५–६ जनामा संक्रमण देखिएको छ । नेपालमा हालसम्म ओमिक्रोनको ‘बीए.२’ भेरिएन्टका कारण संक्रमण फैलिएको पाइएको छ ।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update