Shittalpati
मंकिपक्सबाट बेलैमा सतर्क बनौं

लामो समयको कोरोना महामारीको त्रासबाट मुक्त हुन लागेको विश्व जगत अहिले फेरी मंकिपक्स संक्रमणको त्रास बोहोर्न बाध्य भएको छ । अफ्रिकासँगै युरोप र अमेरिका जस्ता देशहरुमा मंकिपक्स गराउने नयाँ संक्रमणले पिरोल्न थालेको छ । यसको संक्रमण जोखिममा नेपाल पनि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उसले यो संक्रमण फैलिन सक्ने भन्दै विशेष सावधानी अपनाउन आम नागरिकहरूलाई आग्रह समेत गरेको छ । सुरुसुरुमा यसको संक्रमण सामान्य देखिए पनि यसको संक्रमणले विश्वव्यापी रूप लिने आशंका जनस्वास्थ्यविद्हरूले गरिरहेका छन् । विश्वका १४ देशमा फैलिइसकेको भाइरसको संक्रमण व्यापक र घातक हुँदै जाने त होइन ? भन्ने त्रास र आशंका विश्वभर छ । हरेक १० जना संक्रमितमध्ये १ जनाको मृत्यु हुने हालसम्मको आँकडामा देखिएको छ । जसले गर्दा यो अन्य कुनै पनि भाइरसभन्दा कम ज्यानमारा नहुने आंकलन गर्न सकिन्छ । यो भाइरस नयाँ होइन तर पनि यसको व्यापक खोज तथा अनुसन्धान हुन बाँकी रहेको देखिन्छ । सुरुमा बाँदरबाट मानिसमा सरेको पुष्टि हुन आएकाले यसको नाम मंकीपक्स राखिए पनि थप अनुसन्धानमा यो भाइरस मुसा र मुसा प्रजातिमा बढी देखिने गरेको पाइएको छ ।

मंकिपक्सले अर्को महामारी उत्पन्न गर्ने सम्भावना नदेखिए पनि हालैको कोभिड–१९ महाव्याधिलाई ध्यानमा राख्दा अर्को ठूलो महामारी उब्जिन सक्छ भन्ने चिन्तालाई नजरअन्दाज गर्न सकिन्न । मंकिपक्स असामान्य रोग हो, तर लक्षण सामान्यतया हल्का हुन्छ । यद्यपि मंकिपक्सले अन्य गम्भीर रोग निम्त्याउने सम्भावना भने हुन्छ । स्वास्थ्य अधिकारी यात्रामा बढोत्तरी हुँदै जाँदा थप संक्रमण हुनेमा सशंकित छन् । हाल अतिविकसित देशमहरुमा यो संक्रमण देखिएको छ । ति देशमा नेपालीको बसाइ र आवतजावत निकै बाक्लो भएकाले पनि नेपालमा यसको जोखिमको सम्भावना प्रवल छ । त्यहाँबाट नेपाल आउने नागरिकका कारण यहाँ जोखिम छ । यसका लागि सरकार र नागरिकले बेलैमा सर्तकता अपनाउन आवश्यक छ । सरकारले मंकीपक्स देखिएका देशहरूका मानिस स्वदेशमा आए कम्तीमा दुई साता होम आइसोलेसनमा बस्न अनुरोध त गरेको छ तर त्यसको कार्यान्वयन हुन सकिरहेको छ कि छैन ? त्यसको अनुगमन आवश्यक छ । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो । यसर्थ भर्खर भर्खर विकसित देशहरुमा देखिएको संक्रमणको आकार र त्यसबाट हुन सक्ने सम्भावित खतराप्रति भने समयमै सचेत हुन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update