Shittalpati
जनताले विकासको अनुभुति गर्ने गरी काम गर्छौं : नगर प्रमुख श्रेष्ठ

पाल्पा, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोष लाल श्रेष्ठले जनताले विकासको अनुभूति गर्ने गरी काम गर्ने बताएका छन् । नेपाली काँग्रेस वडा न. ९ ले आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले जनताले अनुभति गर्ने गरी नगरको विकास गर्ने बताएका हुन् ।

उनले भने‘तानसेन विगतमा जस्तो छैन, शहरी क्षेत्र भन्दा ग्रामीण वडा र वस्ती धेरै भएकाले अबका दिनमा सबै जनताले विकासको अनुभूति हुने गरी वर्तमान नगर सरकारले काम गर्ने छ ।’

तानसेनको संभावना र अवसर पर्यटन भएकाले माडीफाँटको पानी जम्ने क्षेत्रलाई तालको रुपमा विकास गरी पर्यटन विकासमा नयाँ आयम थपिने गरी काम गर्ने नगरप्रमुख श्रेष्ठले बताए । उनले मदनपोखरा स्वस्थ्यचौकीको स्तर उन्नतीका लागि आवश्यक पहल गरिने समेत बताए ।

कार्यक्रममा नगर सरकारका उपप्रमुख प्रतिक्षा सिंजालीले जनप्रतिनिधीले जनताको निम्ती विकासको काम गर्दा विभेदका हिसावले व्यवहार गर्न नहँुने बताईन् । उनले दमकडा खेल मैदानको स्तर उन्नतीका लागि आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा वडा अध्यक्ष राजेश कुमार आर्यलले सबैले विकासको अनुभूति गर्न सक्ने र पाउने गरी विकासको अवधारणा ल्याउने बताउँदै दमकडा क्षेत्रमा एकिकृत बस्ती विकासको कार्यलाई नगर सरकारले जोड दिनु पर्ने बताए । उनले विपन्न वर्गलाई खाने पानी तथा विद्युतको महसुल स्वस्थ्य बिमाको क्षेत्रमा स्थानीय सरकारले सहयोग गर्नु पर्ने बताए । कार्यक्रम पार्टीका वडा सभापति यमनाथ रेग्मीको सभापतित्व, नगर सदस्य राजन भट्टराईको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update