Shittalpati
पाल्पाको एक्लो महिला वडाध्यक्ष

कृष्ण पोखरेल
पाल्पा, मूख्य राजनीतिक दलले उम्मेदवार चयन गर्दा स्थानीय तहका प्रमुखमा महिलालाई कम स्थान दिएजस्तै निर्वाचित हुने महिला प्रमुखहरुको संख्या पनि न्यून रहेको छ । पाल्पा सहित देशभरका स्थानीय तहका नेतृत्व तहमा न्यून संख्यामा महिला निर्वाचित भएका छन् । पालिका प्रमुख र उपप्रमुखमा केही महिलाहरु निर्वाचित भए पनि वडातहको नेतृत्व तहमा भने कमै महिलाले अवसर पाएका छन् । उम्मेदवार बन्ने अवसर पाएका महिला पनि पुरुषबाटै पराजित हुन पुगेका छन् । जसका कारण वडाको नेतृत्व सम्हाल्ने अवसर कमै महिलाले पाएका छन् । पाल्पामा पनि ८१ वडा मध्ये एक वडामा मात्र महिलाले वडाको नेतृत्व सम्हाल्ने सौभाग्य पाएकी छन् ।

तिनाउ गाउँपालिका वडा नं ५ मा इन्द्रा कुमारी गाहा चिदी पाल्पाकै एक्लो महिला वडाध्यक्ष बनेकी हुन् । नेकपा एमालेबाट उम्मेदवार बनेकी वडा अध्यक्ष चिदीले गठबन्धनकोतर्फबाट नेकपा माओवादी केन्द्रका गणेश बहादुर रास्कोटीलाई २ सय ६८ मत अन्तरले पराजित गर्दै वडाध्यक्ष बन्ने सौभाग्य पाएकी हुन् । एमालेकी चिदीले ९ सय ४५ मत प्राप्त गरी विजयी भइन् भने माओवादी केन्द्रका रास्कोटीले ६ सय ७७ मत प्राप्त गरी पराजित भए । ४४ वर्षीया चिदी लामो समयदेखी सामाजिक,राजनीतिक क्षेत्रमा सक्रिय रहेकी एक जनजाती मगर महिला हुन् । आमा समूहमा काम गर्दै वडा नागरिक मञ्चको संयोजक बनेर लामो समय सामाजिक क्षेत्रमा काम गरेको अनुभव उनीसँग छ । २०७४ सालको स्थानीयतह निर्वाचनमा खुला सदस्यबाट निर्वाचित भएकी चिदी जिल्ला समन्वय समितिको सदस्य समेत भई ५ बर्षसम्म काम गरेकी छन् । एसएलसीसम्म अध्ययन गरेकी चिदीका श्रीमान र २ छोरी रहेका छन् । श्रीमान यमबहादुर चिदीको पूर्ण सहयोगबाटै राजनीति तथा सामाजिक काममा सक्रिय हुन पाएको उनको भनाई छ । वडाध्यक्षमा निर्वाचित भएसँगै चिदीले वडाका महिलाहरुलाई शसक्तीकरण र आयआर्जनमा जोड्ने पहिलो निर्णय गरेकी छन् ।

घर,परिवार र समाजमा महिला सक्षम भएमात्र उन्नती प्रगती हुने भएकाले शसक्तीकरण र आयआर्जनको पाटोमा महिलालाई जोड्ने आफ्नो मुख्य ध्येय रहेको उनले बताईन् । यहाँ अधिकाश मगर समुदाय रहेकाले अझै पनि छिटफुट रुपमा बाल विवाहको प्रचलन रहेकाले गाउँमा आमा समूह, महिला समूह परिचालन गरी बालविवाह पूर्ण रुपमा अन्त्य गर्ने वडा अध्यक्ष चिदीले अठोट लिएकी छन् । घर–घरमा आय आर्जन बढाउन कोल्डाँडा र चर्चरे क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्न बाह्रै महिना सिंचाइ सुविधाको लागि काम गर्ने उनले बताईन् । एक घर एक धारा नभएका केही बस्तीमा पहिलो प्राथमिकतामा राखी खानेपानीको सुविधा दिने चिदीको योजना छ । वडाको सबै टोलबस्तीमा मोटरबाटो पुगे पनि वर्षायाममा समेत यातायात सञ्चालन गर्न मिल्ने गरी कच्ची सडकहरुलाई स्तरउन्नती गर्ने उनले बताईन् ।

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update