Shittalpati
बलात्कार पीडितलाई न्याय देऊ सरकार

सीमा भट्टराई
सिंगै देश मत गणनाको नतिजाले तातिरहेको बेला एक्कासी एक चेलीको वर्षौं गुम्सिएको आँसुको ताल बिस्फोट भएको छ । त्यससँगै देशवासीकै ध्यान उनै चेलीतर्फ खिचिएको छ । सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी छन् । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको उनैले खुलासा गरेकी छन् । टिकटक र इन्स्टाग्रामबाट भिडियो मार्फत उनले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेपछि देशको ध्यान अहिले त्यतै छ । १६ वर्षकी छँदा बलात्कृत भएर छ महिनासम्म यौन शोषणमा परेकी पीडितले आफू २४ वर्षकी भएपछि बल्ल आठ वर्षअघिको उक्त घटना सार्वजनिक गर्ने हिम्मत जुटाउनुलाई कम आक्न मिल्दैन । उनले गरेको घटनाक्रमको वर्णन कति कहाँलीलाग्दो लाग्छ भने सुन्नसमेत आँट बटुल्नुपर्छ । यी बीभत्स दिनहरू उनी आफैंले पो कसरी भोगिरहेकी होलिन्, कल्पना गर्नै मुस्किल छ । उनले सार्वजनिक गरेको विवरण र परिस्थितिजन्य प्रमाणहरू स्वयं बोल्छन् । यसर्थ बलात्कृत युवतीले सामाजिक सञ्जालमार्फ पोखेका विलौना र न्यायका निम्ती भएका प्रयासका विषयमा यहाँ चर्चापरिर्चा गर्ने प्रयास गरिएको छ ।

पीडित युवती सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धी हुन । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलो पटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको बताएकी छन् । उनले टिकटक र इन्स्टाग्रामबाट भिडियोमार्फत आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेकी हुन् । भिडियोमा उनले सानैदेखि मोडलिङमा रुचि राख्ने गरेको र कक्षा १२ को परीक्षा दिएपछि हाउस अफ फेसनमा अडिसन दिएको बताएकी छन् । त्यसमा छनोट नभए पनि उनको फोटो सार्वजनिक भएपछि भिसा ग्लोबल कन्सल्टेन्सीले ‘फोटोसुट’ का लागि अफर गरेको उनको भनाइ छ । ‘अफर आएपछि म निकै उत्साहित भएँ, कन्सल्टेन्सीको मान्छे र एक जना फोटाग्राफर मिलेर मेरो फोटोसुट गराए, कन्सल्टेन्सीको मान्छेले मलाई पाँच हजार रुपैयाँ दियो’, उनले भनेकी छन्, ‘कन्सल्टेन्सीको मान्छेले मलाई सुन्दरी प्रतियोगिता आयोजना गर्न लागेको बतायो, म पहिले पनि यस्ता प्रतियोगितामा भाग लिएकाले सहभागी हुन तयार भए ।’ ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा उनी सहभागी मात्र भइनन्, ‘फस्र्ट रनर–अप’, फोटो जेनिक र मिस ट्यालेन्टको उपाधि समेत पाइन् । त्यसपछि प्रतियोगिताको आयोजकले उनलाई फोन गरेर नयाँ बानेश्वरको एभरेस्ट होटलमा ‘सक्सेस पार्टी’ हुन लागेको भनेर बोलाएको र त्यहाँ जाँदा अरू सहभागी पनि नदेखेको उनको भनाइ छ ।

आयोजकले अरू पछि आउँछन् भन्दै फकाएको, पेयपदार्थ दिएको र केही समयपछि आफूलाई चक्कर आएर असहज भएको तर घर जान नदिएको उनले सार्वजनिक गरेकी छन् । ‘त्यसपछि मैले घर जान चाहन्छु भनेकी थिएँ तर उसले तिमी विजेता भएर यस्तो भन्ने भन्दै बस्न दबाब दियो ।’ अरू सहभागी आएपछि बोलाउने भन्दै आयोजकले केहीबेर आराम गर्न उनलाई कोठामा पठाएको तर त्यसपछि बेलाबेलामा होस खुल्दा आफूमाथि बलात्कार भइरहेको थाहा पाए पनि प्रतिकार गर्न नसकेको उनले बताएकी छन् । एकैचोटी भोलिपल्ट बिहान होस खुल्दा आयोजक आफूसितै सुतिरहेको थाहा पाएको उनले भिडियोमा भनेकी छन् । आफू चिच्याएर रुन थालेपछि पैसा देखाएर फकाउन खोजेको र भिडियो तथा फोटो खिचिसकेको भन्दै धम्क्याएको उनले बताएकी छन् । ‘नग्न तस्बिर र भिडियोहरू लिएको छु, सार्वजनिक गरिदिन्छु भन्दै ब्लाकमेल गरेर ६ महिनासम्म यौन शोषण गरिरÞयो,’ उनले भनेकी छन् । आफ्ना एक जना पुरुष साथीलाई यो कथा भनेपछि उनको साथमा आयोजक एजेन्सीको कार्यालयमा गएको र अडियो रेकर्ड, टेक्स्ट म्यासेजहरू सुनाएको उनले खुलाएकी छन् । आक्रोशित साथीले आयोजकलाई कुटेको, आफूले पनि एक–दुई झापड हानेको र माफी माग्न लगाएको उनको भनाइ छ । तर यही घटनाले गर्दा आफ्ना सामाजिक सम्बन्धहरू टुटेको, दोषीलाई कारबाही नभएको देखेर आत्मबल कमजोर भएको र विभिन्न औषधिको सहारा लिनुपरेको विस्तृत विवरण उनले सुनाएकी छन् । मानसिक पीडामा परेकी उनले अन्ततः हिम्मत बटुलेर घटना सार्वजनिक गरेकी हुन् । घटना पीडितले सार्वजनिक गरेपछि यस्ता जघन्य अपराधमा प्रहरी, सरकारी वकिल र अदालत र संसद्लाई संवेदनशील बनाउन सडकमा आवाज उठ्न थालेको छ । यो विषयमा शुक्रबार संसद्मा समेत बहस भएको छ । सांसद् गगन थापाले यो घटनाको विषयमा संसद्को ध्यानाकर्षण गराएका छन् । चारैतिरबाट युवतीको पक्षमा आवाज उठ्न थालेपछि युवतीले बलात्कार गरेको भनि सार्वजनिक गरेको मनोज पाण्डे शनिबार पक्राउ परेका छन् । ढिलै भएपनि प्रहरीले आरोपतिलाई पक्राउ गर्न सफल भएको छ । प्रतियोगितामा भाग लिने, मोडलिङमा अगाडि बढ्ने सुन्दर सपना बोकेकी उनलाई प्रतियोगिताका आयोजकले होटलमा बोलाएर बलात्कार तथा पटकपटक यौन शोषण गरेपछि आफ्ना सामाजिक सम्बन्धहरू भत्किएको मात्र होइन, आत्मबल टुटेकाले औषधिको सहारा लिनुपरेको युवतीको भनाइ छ । आठ वर्ष लामो अन्तरद्वन्द्वपछि बोल्ने आँट जुटाएकी उनका अगाडि हदम्यादको तघारो देखिएको छ । तर, तघारो हटाउने जिम्मेवारी सरकार र न्यायालयले पूरा गर्नुपर्ने भन्दै आवाज उठेको छ । केही दिनदेखि पीडित युवतीको पक्षमा न्याय माग्दै काठमाडौं लगायत देशका प्रमुख ठाउँहरुमा विरोध प्रदर्शन भइरहेको छ ।

विरोध प्रदर्शनमा उत्रिएकी तुल्सा अधिकारीले पीडितलाई न्याय दिएरै छोड्ने बताएकी छन् । उनले शित्तलपाटीसँगको कुराकानीमा ति युवती अन्यायमा परेको र अहिले मानसिक तनावका कारण विक्षृप्त अवस्थामा रहेको बताएकी छन् । उनले तुरुन्त दोषीलाई कारवाही गर्न आफुहरु निरन्तर सडकमा उत्रिएको बताएकी छन् । पीडित युवतीका पक्षमा आवाज उठे पनि बलात्कार–कानुनको उजुरी सम्बन्धी हदम्यादको व्यवस्था भने उनको लागि तघरो बनेको छ । तर उनी जस्ता पीडितहरुको न्यायका निम्ति यो व्यवस्था तघारो बन्नु हुँदैन । सुन्दरी प्रतियोगिताका आयोजकबाट बलात्कृत भएको आफ्नो पीडा सामाजिक सञ्जालमार्फत सुनाउने क्रममा ती युवतीले सोधेकी छन्, ‘बलात्कारमा एक वर्षभित्र उजुरी गरेन भने फाइल नै लिँदैन रे अदालतले । मेरो आशा हराउँदै गएको छ । यो कस्तो कानुन हो नेपालको ?’ उनको यो संगीन प्रश्नले यौनहिंसा अनि हाम्रो सामाजिक संरचना र चेतनाका सन्दर्भमा बलात्कार कानुन सम्बन्धी एकवर्षे हदम्यादको निर्मम व्यवस्थालाई फेरि एक पटक सतहमा ल्याइदिएको छ । एउटा आदर्श समाजमा अन्यायमा परेका सबैले यथाशीघ्र कानुनको ढोका ढकढक्याएर न्याय पाउन सक्नुपर्ने हो, तर एकपछि अर्को गरी उजागर भैरहेका यस्ता घटनाले हाम्रो समाज अझै त्यहाँसम्म पुगिसकेकै छैन । पढेलेखेको समाजमै पनि छोरीहरू वर्षौंदेखि पीडा गुम्स्याएर बाँच्न विवश छन् । त्यसैले यी युवतीको न्यायको आशा हराउन नदिनु राज्यको परम दायित्व हो । कुनै उपाय पहिल्याएर यिनलाई न्याय दिलाउन राज्यका संयन्त्रहरू सक्रिय हुनु अति आवश्यक छ । पीडकलाई सजाय दिलाएर पीडितलाई संरक्षण र न्याय दिलाउनु राज्य संयन्त्रहरूको कर्तव्य हो, जसबाट हदम्यादको बाहनामा कोही पनि च्युत हुन पाउँदैन । बल्लतल्ल साहस जुटाएर न्यायको याचना गर्ने अवस्थामा आइपुगेकी पीडितलाई हदम्यादको प्रावधानले थप आहत तुल्याउनु हुन्न । हरेक नागरिकको सुरक्षाको जिम्मा राज्यको हो । राज्यले त्यो दायित्व पूरा गर्न नसकेका कारण महिला र बालिका बलात्कारपीडित भइरहेका छन् । उल्टै तिमी मैले तोकेको समयमा नआएका कारणले न्याय दिन्न भन्न राज्यले मिल्दैन । राज्यले कोही पनि पीडित माथि घटनाको अनुसन्धान नै सुरु गर्दिनँ, न्याय नै दिन्नँ भन्नु गैरजिम्मेवार बन्नु हो । तसर्थ सरकारले बलात्कार पीडितलाई न्याय दिलाउन र समाजमा छोरीहरूको सम्मानित जीवन सुनिश्चित गर्न राज्यका नीतिनियम र पहलहरूलाई सदैव उत्तरदायी बनाउनै पर्छ ।
(लेखक शित्तलपाटी डटकमका व्यवस्थापक तथा महिलाको क्षेत्रमा कलम चलाउने पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update