Shittalpati
जैविक विविधता संरक्षणमा ध्यान देऊ

भौगोलिक तथा पारिस्थितिक विविधताको उपजस्वरुप सिर्जित प्रजातिगत तथा आनुवांशिक विविधता नै जैविक विविधता हो । वास्तवमा भन्ने हो भने पृथ्वीमा भएको सुक्ष्म तथा स्थूल जीव अनि वनस्पतिको समष्टीरुपलाई नै जैविक विविधताको रुपमा लिइन्छ । पृथ्वीमा उपलब्ध जीव, वनस्पति अथवा जलचर र स्थलचरसहित निर्जीव तत्व बिचको अन्तर सम्बन्धले नै पृथ्वीको प्राकृतिक वातावरण सन्तुलित बनाइरहेको छ, जसका कारण पृथ्वीमा मानिसलगायत सम्पूर्ण प्राणीहरूको अस्तित्व कायम रहन सकेको छ ।

त्यसैले पनि संसार जैविक विविधताको अघोषित साम्राज्य हो । जब प्रकृतिमा जैविक विविधताको गुणात्मक र संख्यात्मक विकासमा शिथिलता उत्पन्न हुन्छ र ह्रास आउन थाल्छ तब मानिसले आफ्नो अस्तित्वमाथि समेत शंका उठाउनुपर्ने हुन्छ । यस अर्थमा जैविक विविधता जीवनको सहयात्री हो, विकास र उन्नतिको मूल जरो वा स्पन्दन हो । यसैबाट जैविक विविधताको महिमा वा महत्व समेत स्पष्ट रूपमा झल्कन्छ । तर पछिल्लो समय मानववस्तीको विकाससँगसँगै जैविक विविधता समेत हराउने अवस्थामा छ । जनसंख्या वृद्धिका कारण प्राकृतिक स्रोतको अत्यधिक दोहन तथा बासस्थानको विनास अनि बढ्दै गएको जलवायु परिवर्तन र विश्व उष्णीकरणका कारण जैविक विविधता संकटमा छ । संकटमा पर्दै गएको जैविक विविधताको रक्षाको लागि अन्तराष्ट्रिय स्तरमा अभियान सञ्चालन गर्ने ध्ययले हरेक वर्ष मे २२ तारिख अर्थात् आजकै दिन जैविक विविधता दिवस मनाउने गरिन्छ । हरेक वर्ष यो कार्यक्रम मनाउने गरिए पनि जैविक विविधताको संरक्षण भने हुन सकेको छैन । यो विडम्बनाको कुरा हो । मानवीय क्रियाकलापका कारण पृथ्वीबाट कैयन जीवजन्तुका वंश नै समाप्त भैसकेका छन् भने कुनै अति नै संकटापन्न अवस्थामा पुगिसकेको सन्दर्भमा भावी संकट टार्नको लागि मानव समुदायले जैविक विविधता रक्षामा कदम चाल्नु अपरिहार्य बनिसकेको छ । जैविक विविधता संरक्षणको सवाल हरेक नागरिकको मुख्य कर्तव्य बन्नुपर्छ अनि प्राकृतिक स्रोतमाथिको अधिकार नागरिकको मौलिक हक बनाइनुपर्छ । यसो गर्न सके मात्र जैविक विविधताको संरक्षण हुन सक्छ । तसर्थ सबै वर्ग र क्षेत्रले यस विषयमा समाधानको उचित बाटो खोज्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update