Shittalpati
पाल्पाका जनप्रतिनिधिले लिए शपथ

कृष्ण पोखरेल
पाल्पा, देशरभर स्थानीय तह निर्वाचनको मतगणना जारी भैरहँदा पाल्पाका नवनिर्वाचित प्रमुखहरुले भने बिहीबार पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । उनीहरुले निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र लिई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट शपथ ग्रहण गरेका हुन् । मुख्य निर्वाचन अधिकृत खड्ग बहादुर केसीले नव निर्वाचित नगर प्रमुख/अध्यक्षहरुलाई शपथग्रहण गराएका छन् । शपथ ग्रहणपछी उनीहरु आजदेखि नियिमत काम खटिने छन् । यहाँका ९ वटा पालिकाका प्रमुख तथा जनप्रतिनिधीहरु शपथग्रहण पछी आ–आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् । पालिकाका अध्यक्षहरुले उपाध्यक्ष सहितका जनप्रतिनिधीहरुलाई शपथ गराउने छन् । जिल्लाका ३ सय ९८ जना जनप्रतिनिधीहरुले आ–आफ्नो पालिकामा निर्वाचन अधिकृतसँग प्रमाण ग्रहण गरिसकेका छन् ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले उप–प्रमुख प्रतिक्षा सिंजाली लगायतका १४ वडाका वडाअध्यक्ष सहित ७१ जना जनप्रतिनिधीहरुलाई बिहीबार नै शपथ ग्रहण गराएका छन् । शपथग्रहण पछी नव निर्वाचित पालिकाका प्रमुख, उप प्रमुखले पालिकाको केन्द्रमा र वडा अध्यक्ष तथा सदस्यहरुले वडा कार्यालयमा पदभार ग्रहण गरेका छन् । तानसेन नगरपालिकाम निवर्तमान नगर प्रमुख अशोक कुमार शाही र उप–प्रमुख लक्ष्मीदेवी पाठकले नगरका ७२ जना प्रतिनिधीहरुलाई टिका खाँदा लगाएर स्वागत गरे । २०७४ सालमा निर्वाचित पाल्पाका जनप्रतिनधीहरुले ५ वर्षे कार्यकाल पुरा गरी नव निर्वाचित जनप्रतिनिधीहरुलाई पद हस्तानतरण गरेका छन् । पाल्पामा ९ वटा पालिकाको परिणाम सार्वजनिक हँुदा नेकपा एमालेले ५ अध्यक्ष, ४ उपाध्यक्षमा विजय हासिल गरेको छ । नेपाली काँग्रेसले ३ प्रमुख/अध्यक्ष, ३ उप–प्रमुख ÷उपाध्यक्षमा विजय हासिल गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले १ अध्यक्ष र १ उप–प्रमुखमा विजय हासिल गरेको छ । नेकपा एमालेले निस्दी र पूर्वखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित सम्पूर्ण वडामा प्यानल सहित विजयी भएको छ भने तिनाउ गाउँपालिकामा अध्यक्ष सहित ४ वटा वडा, माथागढी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडा र बगनासकाली गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित ६ वटा वडामा जित हासिल गरेको छ । नेपाली काँग्रेसले रामपुर नगरपालिकामा प्रमुख र उप प्रमुख सहित ७ वटा वडा, तानसेन नगरपालिकामा प्रमुख सहित ८ वटा वडा र रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष सहित ४ वटा वडामा विजय हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रले रिब्दीकोट गाउँपालिकामा अध्यक्ष सहित १ वडा, रैनादेवी छहरा गाउँपालिका उपाध्यक्ष सहित २ वटा वडा र तानसेन नगरपालिकामा नगर उपप्रमुख सहित २ वटा वडामा विजय भएको छ । जिल्लाका ८१ वटा वडाहरु मध्ये ५ वटा वडाको परिणाम आउन बाकी रहेको छ । ७६ वटा वडाको मतगणना सम्पन्न हुँदा नेकपा एमालेले ३८ वटा वडा, नेपाली काँग्रेसले ३२ वटा वडा, नेकपा माओवादीले ५ वटा वडा र राष्ट्रिय जनमोर्चाले १ वटा वडामा जित हासिल गरेको छ । २०७४ सालको स्थानीयतह निर्वाचनमा नेकपा एमालेले ४० वटा वडामा जित हासिल गरेको थियो भने नेपाली काँग्रेसले ३७ र माओवादी केन्द्रले ४ वटा वडामा जित हासिल गरेको थियो । रम्भा गाउँपालिकामा भने स्थगित भएको मतगणना कार्य पुन शुभारम्भको लागि आवश्यक प्रक्रिया अगाडि बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update