Shittalpati
भुसालले भने ‘विदाइ भएपनि जनताको दुःख, सुखमा सँगै रहन्छु’

गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले नगर प्रमुखबाट विदा भए पनि जनताको दुःख, सुखमा सँगै रहने बताएका छन् । बिहीबार जादा–जाँदै पाँच वर्षमा गरेका कामहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै भूसालले आफु पदबाट विदा भएपनि नगरवासीको सुख, दुखमा सँगै रहने बताएका हुन् । नगरप्रमुखबाट विदा भएपनि आफु तटस्थ नबस्ने उनले बताए ।

भूषालले नवनिर्वाचित जनप्रतिनिधिलाई राम्रो काममा सहयोग गर्ने र खराब प्रवृत्तिको सधैँ विरोध गर्ने बताए । उनले नगरवासीको विकासका निम्ति बाहिरबाट सधैं खबरदारी गरिनै रहेने बताए । भूसालले पाँच वर्षे कार्यकालमा जनतासँग गरेका वाचाहरु पुरा गरेको दावी गरे । ‘खुसी रेसुङ्गा, सुखी रेसुङ्गा’ लाई जनप्रतिनिधि र कर्मचारीले आत्मसात गर्दै निरन्तर नगरवासीलाई सेवा प्रवाह, सुशासन र विकास निर्माणमा गति दिएको उनको भनाई छ । भूसालले कृषि, पशु, सुन्तला, तरकारी माहुरीजस्ता पकेट क्षेत्र विस्तार, कृषि तथा पशु उपज संकलन केन्द्र निर्माण र सञ्चालन, ऐन कानुन तथा कार्यविधि निर्माण गरेको पनि बताए । रेसुा क्षेत्रमा सडक, सिढी, मन्दिरको जीर्णोद्वार लगायत पूर्वाधार निर्माण, अर्जुन क्षेत्रमा सडक, मन्दिर, जीर्णोद्वार, सेल्फी टावर लगायत पूर्वाधार निर्माण गरिएको उनले बताए । त्यस्तै उनायचौरमा सडक, ट्री हाउस, खेलमैदान मन्दिर जीर्णोद्वार लगायत पूर्वाधार निर्माण, जोगीथुम, भगवती मन्दिर लगायत पूर्वाधार निर्माण गरिएको पनि उनले जानकारी गराए । कोभिड खोप लक्षित जनसंख्याको १ सय प्रतिशतले प्राप्त, पहिलो पटक कोभिडको संक्रमणको बेला नगरपालिका सहित सबै वडामा क्वारेन्टाइन निर्माण, महेन्द्र माविमा आइसोलेशन निर्माण गरी सयौं नागरिकलाई सेवा प्रदान गरिएको उनले उल्लेख गरे । गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माण, जेष्ठ नागरिक परिचयपत्र वितरण, फोहोर व्यवस्थापन, शव पार्क निर्माण, आशिक रोजगारीको व्यवस्था, सबै वडामा सडक सञ्जाल, आवश्यक स्थानमा पुल निर्माण जस्ता कामहरु गरेको उनले बताए ।

भूसाल २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट विजयी भएका थिए । उनीहसँगै एमालेबाट उप–मेयरमा सीता भण्डारी निर्वाचित भएकी थिइन् । यहाँ त्यति बेला १४ वटा वडामध्ये ६ वटा वडामा एमालेले र ८ वटा वडामा नेपाली काँंग्रेस विजयी भएको थियो । अहिले भने नगरको नेतृत्व नेपाली काँग्रेसको हातमा आएको छ । वैशाख ३० गते भएको निर्वाचनमा नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका खिलध्वज पन्थी नगर प्रमुख र उपप्रमुखमा अमृता कुँवर निर्वाचित भए । यहाँ अहिले काँग्रेसले १० वटा वडा र ४ वटा वडामा नेकपा एमालेले जित हासिल गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update