Shittalpati
पाल्पामा महिला मतदाता बढी

रामपुर (पाल्पा), वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको संख्या धेरै रहेको छ । जिल्लामा पुरुषको तुलनामा छ हजार ३ सय ३० महिला मतदाता धेरै रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । यहाँ एक लाख तीन हजार १० महिला मतदाता रहेका छन् भने ९६ हजार ६ सय ८० पुरुष मतदाता छन् ।

जिल्लाको १० पालिकामध्ये तिनाउ गाउँपालिकाबाहेक अन्य पालिकामा महिलाको मतदाता संख्या बढिरहेको पाइएको छ । तिनाउमा पुरुष सात हजार २ सय ४५ र महिला सात हजार १ सय ४१ छन् भने अन्य पालिकामा महिला मतदाता बढी छन् । तानसेन नगरपालिकामा एक हजार ७ सय १३, रामपुर नगरपालिकामा एक हजार ५ सय ४३, बगनासकाली गाउँपालिकामा ८ सय २९, रम्भामा ६ सय ८७, पूर्वखोलामा ६ सय ४०, माथागढीमा ३ सय ८७, रिब्दीकोटमा ३ सय ७३, रैनादेवी छहरामा १ सय ६७, तिनाउमा १ सय ४ र निस्दीमा ९३ महिला मतदाता बढिरहेका छन् । सबैभन्दा धेरै मतदाता तानसेन नगरपालिका र थोरै पूर्वखोला गाउँपालिका रहेका छन् । निर्वाचन कार्यालयद्वारा प्रकाशित नामावलीमा तानसेनमा ३३ हजार ७ सय ६९ र पूर्वखोलामा १३ हजार ६ सय ९८ मतदाता छन् । सबैभन्दा कम मतदाता तिनाउ गाउँपालिका–६ स्थित पाटन आधारभूत विद्यालय मतदान केन्द्रमा १ सय ८१ मतदाता रहेका छन् ।

जिल्लामा कूल १ सय १८ मतदानस्थल र २ सय ४७ मतदान केन्द्र कायम छन् । दश पालिकामध्ये मतदानस्थल र केन्द्र सदरमुकाम तानसेनमा बढी छन् । यहाँ २२ मतदानस्थल र ४४ केन्द्र छन् भने सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा नौ मतदानस्थल र १७ केन्द्र रहेको छ । भयरहित वातावरणमा सबै मतादाता निर्वाचनमा सहभागी हुन पाउने व्यवस्थाका लागि जिल्लास्थित सुरक्षा निकायले पनि आन्तरिक रणनीतिक योजना तयारी गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । –रासस

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update