Shittalpati
आज मध्यरातदेखि मौन अवधि, के गर्न पाइँदैन ?

पाल्पा, स्थानीय तह निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिभर चुनावको प्रचार गर्न निषेध गरिएकोे छ । यो समयमा दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला/गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ । सामाजिक सञ्जाल, अनलाइन, छापालगायत माध्यमबाट दल र उम्मेदवारको पक्ष तथा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोष्ट वा सेयर गर्न गराउन आयोगले रोक लगाएको छ ।

मतदानका दिन वैशाख ३० गते यातायातका साधन बन्द गर्ने निर्णय सरकारले गरेको छ । एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहने छन् ।

यस्तै गृह मन्त्रालयले चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाही हुने जनाएको छ । चुनाव बिथोल्ने, शान्ति र सहिष्णुता खल्बल्याउने तथा मतदातालाई स्वतन्त्र रूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानुनबमोजिम कारबाही हुने गृहले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update