Shittalpati
पाल्पामा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइने

पाल्पा, जिल्लामा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाइने भएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतामा बसेको बैठकमा निर्वाचनका बेला शान्ति सुरक्षामा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै यही वैशाख २७ गतेदेखि मतगणनको कार्य सम्पन्न नभएसम्मको लागि जिल्लाभर मदिराको प्रयोगमा रोक लगाउने निर्णय गरिएको हो ।

जाँडरक्सीलगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावनालाई मध्यनजर गरी मदिरा सेवन तथा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदिरामा पूर्ण प्रतिबन्ध लगाउने र नियमविपरीत गएर मदिरा सेवन तथा बिक्रीवितरण गरेको पाइएमा नियमअनुसार कारवाही गर्ने चेतावनी दिइएको छ । जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिराको उत्पादन, भण्डारण, बिक्रीवितरण नगर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update