Shittalpati
‘चुनावका बेला आउनेहरू जितेपछि कता हराउँछन् होला ?’

रामचन्द्र रायमाझी
पाल्पा, स्थानीय तह निर्वाचन आउन अब ५ दिन मात्रै बाँकी छ । दलहरुले विभिन्न नारा लिएर जनताको घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । उनीहरु भोट आफ्नो पोल्टामा पार्न गाउँ पसेका छन् । यतिबेला मुलुक चुनावमय भएको छ । तर, गएको निर्वाचनमा मत लिएर गएकाहरु नफर्केको भन्दै केही मतदाताहरु भने आक्रोशित भएका छन् । तिनाउ गाउँपालिका कचलकी मिना बगाले स्थानीय तहको निर्वाचन नजिकिएसँगै आँगनमा भोट माग्न आउनेहरूदेखि आजित छिन् । पाँच वर्ष पहिले नेताहरूले दिलाएको झुटा आश्वासन सम्झदै उनी भन्छिन् ‘दुई/तीन दिन भयो, भोट माग्न आउनेहरुको ओइरो लाग्छ, आश्वासन सुन्नमै दिन बित्छ । जसलाई देखे पनि रिस मात्रै उठ्छ ।’ मिनाको मात्रै होइन उनका छिमेकी बलबहादुर बगालेको घरमा पनि निहुँ नेताहरु मत माग्न आउने गरेका छन् । ‘चुनावका बेला यसरी घर–घर धाउनेहरू जितेपछि कता हराउँछन् होला ?’ उनको मनमा प्रश्न खेल्छ ।

पाँच वर्ष अघिको आश्वासन पूरा नभएकाले यो पटक बगालेलाई भोट हाल्न मन छैन । ‘नेता, पार्टी सबैदेखि मन मरिसक्यो । यिनीहरू सबै झुटा लाग्छन् । भोट दिएर नी के गर्नु,’ बगालेले भने । अघिल्लो पटक भोट माग्न आउनेले सडक बनाउँछु,, रोजगारी दिन्छु, खानेपानी घरमै पु¥याउन्छु भन्ने बाँचा गरे । सोही अनुसार टोलवासीले एकछापे भोट सूर्यमा हाले । भोट हालेकाले चुनाव पनि जिते । त्यसपछि टोलमा फर्किएर गएनन् । जनप्रतिनिधिले चुनावी बाँचा भुलेको तितो अनुभव उनीसँग छ । त्यसैले उनी भोट दिएर केही नहुने ठान्छन् । तानसेन जैसी चौपारीका बलबहादुर विकको पनि गुनासो उस्तै छ । लामो समयदेखि जैसीचौपारीमा बस्दै आएका उनले निर्वाचनका बेला लालपूर्जा पाउने आश्वास पाउने गरेको भए पनि अहिलेसम्म पाउन नसकेको बताउँछन् । तीन पुस्तादेखि बसोबास गर्दै आएका उनले अहिलेसम्म लालपुर्जा पाउन सकेका छैनन् । ‘हरेक निर्वाचनमा नेताहरु आएर लाजपुर्जा दिन्छौं भन्दै भोट माग्नु हुन्छ,तर जितेपछि भने न लालपुर्जा दिनुहुन्छ, नत टोलमा फर्केर आउनुहुन्छ’ विकले भने ।

गुल्मी इस्मा २ ढाँडाका टेकबहादुर कुमाललाई वैशाख ३० को निर्वाचनमा कसलाई मत दिनेभन्दा पनि खेतीपाती लगाउने र स्याहार्ने कामकै चिन्ता छ । उनी भन्छन्,‘जसले जिते पनि गाउँको विकास गर्ने होइनन् । कुर्सी हात पार्न होडबाजी गरेर अनेक नारा बोकेर चुनावका बेला गाउँ आउँछन् । हामी त किसानी मान्छे आफ्नो काम ग¥यो, बस्यो ।’ भाषाण भन्दा पनि विकास गर्ने, जनताका लागि सुविधा दिने जनप्रतिनिधिलाई मतदान गर्ने चाहना रहेको उनले बताए । ‘गाउँमा खानेपानी, बाटो तथा स्वास्थ्यको अवस्था राम्रो छैन । पहिलेको जनप्रतिनिधिले राम्रो काम गरेनन् । उनीहरु जितेपछि गाउँसम्म फर्केर आएनन्’ ढाँडाकै विर सारुले भने ‘धेरै पटक भोट हालियो तर सबै आफैँ बन्ने मात्र काम गरे । टोलको, वडाको काम कसैले गरेनन् ।’ उनी अब भने पार्टीलाई भन्दा पनि मान्छे हेरेर भोट हाल्ने सोचमा छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update