Shittalpati
पाल्पामा मतदान अधिकृतलाई तालिम

कृष्ण पोखरेल
पाल्पा, वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा खटिने जिल्ला मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । दुई दिनसम्म चलेको तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतपेटिका राख्ने ठाउँ, रुजु गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने तरिका, कर्मचारी आचारसंहितालगायतका विषयमा तालिम दिइएको थियो । उनीहरुलाई नमुना मतदानमा सहभागी समेत गराईको छ ।

पाल्पामा ११८ मतदान स्थलको २४७ वटा मतदान केन्द्रका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतले तालिम लिए । प्रशिक्षण पाएका मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मीहरु वैशाख २५ गते देखी सरसमान बुझेर सम्बन्धित स्थानमा लाग्ने छन् । खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुले तालिमको अन्त्यमा नमुना मतदान प्रक्रियामा सहभागी भएका छन् । नमुना मतदानमा मतदान स्थलको ३ सय मिटर वरीपरीको घेरावार गरेर महिला, पुरुष, अपाङ्ग, जेष्ठ नागरिकहरुको छुट्टा–छुट्टै लाईन बनाउने, मतदान क्षेत्र भित्र प्रवेश गरिसकेपछी मतदाता परिचयपत्रको आधारमा दलका प्रतिनिधीबाट नाम रुजु गर्ने, दोस्रो चरणमा सरकारी कर्मचारीबाट पुन नाम रुजु गर्ने, तेस्रो प्रक्रियामा हातमा रङ लगाउने, चौथो प्रक्रियामा सहायक मतदान अधिकृतले मतदान अधिकृतबाट हस्ताक्षर भएको मतपत्र मतदातालाई दिई मत संकेतका लागि पठाउने, मतदाताले मतपत्रमा स्वस्तिक छाप लगाई सकेपछी मतपत्र बाकसमा खसाली मतदाता बाहिरिएको नमुना मतदान प्रर्दशन गरिएको थियो ।

तालिममा सहभागी मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई यो सबै नेपाली नागरिकहरुको बडापर्व भएकाले नागरिकबाट चुन्न र चुनिन पाउने अधिकारको स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले ठूलो जिम्मेवारी सुम्पेको प्रमुख निर्वाचन अधिकृत खड्ग बहादुर केसीले बताए । तालिम पाएका मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीहरु वैशाख २६ गते साँझसम्म मतदानस्थमा पुगी सक्ने गरी आ–आफ्नो व्यबस्थापन गर्न जिल्ला निर्वाचन कार्यालय पाल्पाले सबैमा सूचना जारी गरेको कार्यालय प्रमुख रुकमागत अर्यालले बताए । वैशाख २७ गते नै मतदानस्थमा राजनीतिक दलसहित सर्बदलीय बैठक गर्न प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्देशन दिएका छन् । मतदानमा खटिएका कर्मचारी, सुरक्षाकर्मीबाट कुनै राजनीतिक दलप्रति आस्था देखाएमा वा सही नभएको मतपत्र प्रयोग भएमा कर्मचारीको अदालतमा समेत मुद्दा मामिला गर्न नपाउने गरी सरकारी सेवाबाट बर्खास्त हुने र आगामी दिनमा सरकारी सेवामा अयोग्य घोषणा गरिने गरी कठोर कारवाही हुने आयोगले प्रावधान राखेको प्रजिअ पन्तले जानकारी गराए । १ लाख ९९ हजार ६ सय ९० मतदातालाई चाहिने २ लाख २० हजार मत तयारी अवस्थामा राखिएको छ । पाल्पामा स्थानीय निर्वाचनका लागि १०८० जना म्यादी प्रहरी, नेपाल प्रहरी ७०४, शसस्त्र प्रहरी २१८, नेपाली सेना ४१६ जना र १९७१ जना कर्मचारीहरु खटिने छन् । पाल्पामा ११८ मतदान स्थलमध्ये ५७ वटा सामान्य, ४५ वटा संवेदनशिल र १६ वटा अति संवेदनशिल रहेका छन् ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update