Shittalpati
जनतालाई झुटा सपना नबाँड

निर्वाचनका बेला विगतमा जस्तै यस पटक पनि राजनीतिक दल र उम्मेदवारहरुले जनता समक्ष झुटा सपना बाँडन छोडेनन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै छ । उम्मेदवार र दलका नेताहरु मतदाताको घर–घरमा पुगिरहेका छन् । उनीहरुले जनतालाई समृद्धि, सुशासन र विकासका लागि आफुहरुलाई अमूल्य मत दिन भनिरेहका छन् । हुन त विगतमा पनि यिनै कुरालाई लिएर भोट मागेका हुन् । अहिले पनि यिनै कुरा पुनरावृत्ति भएका छन् । समृद्धि, सुशासन र विकास आफैमा राम्रा विषय हुन् । तर निर्वाचनका बेला गरेका यि वाचा र देखाएका सपना पुरा नहुँदा भने यि सबै झुटा सपना ठहरिन पुगेका हुन् । निर्वाचनका बेलामा सधैं आकाशका तारा झारिदिने र विकासका कामको व्याख्या गर्ने उम्मेदवार विजय भए पछि यि सब कुरा विर्सनु गलत हो । विगतको पाँच वर्षलाई तुलना गर्ने हो भने पनि कोही कतै समृद्धि र सुशासन भएको देखिदैन । एकाध ठाउँमा केही रचनात्मक काम भएपनि सबै जनताको पहँुच पुग्न सकेको छैन । अझै पनि धेरै जनताहरु एक छाक खाना नपाएर भोकै बस्नु परेको छ । धेरै जनता आधारभूत स्वास्थ्यबाट बञ्चित हुनु परेको छ । यस्तो हुँदा पनि दल र उम्मेदवारहरुले झुटा सपना बाँड्न छोडेका छैनन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पहिलो आवधिक निर्वाचन र त्यसबाट निर्माण भएको स्थानीय सरकार र यसका प्रतिनिधिले बारम्बार आलोचना खेप्न पुगे । आर्थिक अपचलनका कुरा उठिरहे । सुशासन दिन नसकेका कुरा सार्वजनिक भई नै रहे । कतिपय उम्मेदवारले अख्तियारको मुद्दासमेत खेपे । कतिपय अयोग्य साबित भए । अरू कतिपयका विरुद्धमा उजुरीका चाङ छन् । जनताको घरदैलोमा पु¥याइएको स्थानीय सरकारले जनताको भावनाअनुसार काम गर्न सकेनन् भन्ने गुनासा सार्वजनिक रूपमा पनि अभिव्यक्त भइरहेका छन् । आर्थिक अनियमितता, सुशासन र छिटोछरितो सेवाप्रवाह हुन सकेन । स्थानीय तहको पहिलो सरकार भएका कारण यसको विधायिका काम, कर्तव्य र अधिकार स्वभावैले प्राथमिकतामा थिए नै । तर, ती कामहरू अहिले पनि पूरा हुन सकिरहेका छैनन् । अब पनि उम्मेदवार र जनताले गरेका वाचा र देखाएका सपना पुरा होलान् र गर्लान् भन्ने कुरामा संका नै छ । हुन त यि गर्न नसक्ने विषय पनि होइनन्, जनपतिनिधिको सक्रियता, चाहाना हुने हो भने गर्न सकिन्छ । तर त्यसतर्फ कसैले पनि ध्यान दिदैनन् । यसर्थ जनतालाई झुटा सपना होइन साच्चिकै गर्न सक्ने काम र योजनाका विषयमा बताउँ त्यो नै विजयीको महत्वपूर्ण माध्यम बन्नेछ ।

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update