Shittalpati
निर्वाचन निष्पक्ष बनाउन पत्रकारको भूमिका महत्वपूर्ण, मर्यादित र निष्पक्ष समाचार सम्प्रेषण गर्न जोड

रामचन्द्र रायमाझी
पाल्पा, निर्वाचन निष्पक्ष बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । पाल्पा विकास केन्द्रको आयोजना र पत्रकार महासंघ पाल्पाको समन्वयमा तानसेनमा भएको स्वच्छ, स्वतन्त्र निष्पक्ष, पारदर्शी र विश्वसनिय निर्वाचन, मर्यादित र निष्पक्ष रिपोर्टिङ सम्बन्धी कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । उनीहरुले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । उनीहरुले निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन सबै पत्रकारले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले स्वच्छ, स्वतन्त्र निष्पक्ष, पारदर्शी र विश्वसनिय ढंगबाट समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे । उनले जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी भइसकेकाले निर्वाचनलाई सभ्य र मर्यादित बनाउने काममा पत्रकारहरुले ध्यान दिनुपर्नेमा जोड दिए । सरकारको चौथो अंग पत्रकार भएकाले निर्वाचनलाई मर्यादित बनाउने दिशामा महत्वपूर्ण भूमिका रहने प्रमुख जिल्ला अधिकारी पन्तले बताए । उनले राजनीतिक दल र उम्मेदवारको हितमा आचरसंहिता आएकाले त्यसको पालना र कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी पन्तले अनुगमनका क्रममा जिल्लाका केही पालिकाहरुमा आचरसंहिता पालना भएको र केहीमा पालना हुन नसकेको बताए । उनले अनुगमन गर्ने निकायदेखि पालना गर्ने निकायले आचरसंहिताका विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । निर्वाचनका लागि जिल्लामा सुरक्षा निकायको सम्पूर्ण व्यवस्था गरिसकिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र आवश्यकता अनुसार नेपाली सेनाको व्यवस्था मिलाई सकिएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार मेघराज शर्माले निर्वाचनलाई मर्यादिन बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताए । पत्रकारले सधैँ तटस्थ भूमिका प्रदर्शन गर्नुपर्ने र निर्वाचनका बेला अझ त्यसको महत्व रहेको उल्लेख गर्दै उनले भने ‘पत्रकारले कुनै पार्टीको प्रचारप्रसार गर्न हुँदैन, पत्रकारमाथि कसैले पनि औँला ठड्याउने अवस्था आउन नदिन सजग हुनुपर्छ । तटस्थ भूमिका प्रदर्शन गर्नेतर्फ सचेत हुनुपर्छ ।’ शर्माले पाल्पाली पत्रकारिता क्षेत्र तटस्थ छ भनेर स्थापित गर्न जरुरी रहेको बताउँदै आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए ।

पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराईले निर्वाचनका बेला सरकार र निर्वाचन आयोगको भूमिका, राजनीतिक दल र उम्मेदवारको एजेण्डा, मतदाताको सुरक्षा लगायतका विषयलाई पत्रकारले सूक्ष्म रुपमा अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले मतदातालाई भयरहित हिसाबले मतदान गर्न पाउने अवस्था सिर्जना गर्न पत्रकारले कलम चलाउनुपर्ने बताए । पत्रकार महासंघ पाल्पाका अर्को पूर्व अध्यक्ष भगवान भण्डारीले प्रेस जगत राज्यको एउटा अभिन्न अंग भएको बताउँदै प्रेसको दुरुपयोग गर्न नहुने बताए । उनले प्रेस स्वतन्त्रताको दुरुपयोग भएमा अन्य समस्या निस्कने भन्दै त्यसका लागि प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन र त्यसको रक्षा गर्नका लागि आचारसंहिता आवश्यक रहेकोमा जोड दिए । भण्डारीले अहिले निर्वाचन अत्यन्त संवेदनशिल भएकाले त्यस तर्फ ध्यान दिन पत्रकारलाई आग्रह गर्दै भने ‘आफु संयमित बन्दै निर्वाचनलाई मर्यादित बनाउन लाग्नुहोस् ।’ कार्यक्रममा पत्रकारहरुले उठाएका जिज्ञासाको जवाफ दिदै पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले सबै पत्रकारहरुलाई जिम्मेवार भई, कहि कतैबाट उजुर बाजुर नआउने गरी स्वतन्त्र निष्पक्ष, सन्तुलित भई काम गर्न आग्रह गरे । जिल्लाको स्थानीय तहमा उम्मेदवार भएका पत्रकार महासंघका सदस्यहरुले राजीनामा गर्न अनुरोध गर्दै नगरेमा केन्द्रीय महासंघको निर्देशन अनुसार स्वतः सदस्यता खारेज भएको सूचना प्रकाशन तथा प्रशारण हुने अध्यक्ष रानाले बताए । पाल्पा विकास केन्द्रका सल्लाहकार गोपालप्रसाद बस्यालले निर्वाचनमा पत्रकारहरुको भूमिका र आचरसंहिताको विषयमा सहजीकरण गरेका थिए । उनले आचारसंहिता पालनामा अझै पनि सरोकारवाला गम्भीर हुन नसकेको भन्दै सबैले आचारसंहिता पालना गर्नुपर्ने बताए । पत्रकार एउटा पक्षको मात्र नभई सबै पक्षको हुनुपर्नेमा बस्यालले जोड दिए ।

केन्द्रका अध्यक्ष कृष्ण पोखरेले लोकतन्त्रलाई सही ढ·बाट अगाडि बढाउन निर्वाचन आवश्यक रहेको भन्दै निर्वाचनबाट सक्षम नेतृत्व चयनका लागि पत्रकारले आवाज बुलन्द गर्नुपर्ने बताए । कार्यक्रममा केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले पत्रकारहरुले अरुलाई निगरानी गर्दै गर्दा आफु पनि आचारसंहिता भित्र बसेर काम गरेमा मात्र समाजमा पत्रकारको धर्म र मर्म रहने बताए । संस्थाले सञ्चालन गरेको नीतिपातो भित्र पत्रकारहरुलाई चाहिने स्थानीयतहदेखि प्रदेश सरकार सम्मका सूचना तथा लि·हरु, स्थानीय तह निर्वाचन सम्बन्धी जानकारी रहेको साइट भिजिट गर्न समेत संयोजक कौशलले पत्रकारहरुलाई आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update