Shittalpati
पाल्पामा बढ्दै चुनावी रौनकता, समृद्धि र विकासका मुद्दासहित घरदैलोमा उम्मेदवार

रामचन्द्र रायमाझी
पाल्पा, स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुले चुनाव–प्रचार तीब्र बनाएपछि पाल्पामा चुनावी रौनकता बढेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरिएसँगै चुनावी रौनकता ह्वातै बढेको हो । पाँच दलीय गठबन्धन, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल मंगोल अर्गनाइजेशन लगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ पसेका छन् ।

दलका झण्डा र चुनाव चिन्ह राखिएको गाडीमा स्पिकर जोडेर चुनावी गीत घन्काउँदै गाउँ टोलमा भोट माग्ने उम्मेदवारको लर्को लागेको छ । फरक–फरक दलको वडा र पालिकाका उम्मेदवारहरु समूह बनाएर घरदैलोमा हिँडेका छन् । उम्मेदवार नेताहरुको चहलपहलले चुनावी माहौल बढाएको छ । उम्मेदवारहरुले भेटघाट र घरदैलोलाई प्रभावकारी बनाउन जोड दिएका छन् । सबैजसो टोलमा कुनै न कुनै दलका उम्मेदवार भएकाले चुनावले चहलपहल बढाएको हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको यहाँ अहिले सबै पालिकाका उम्मेदवार आ–आफ्ना पक्षमा मत माग्न चुनावी प्रतिबद्धतासहित मतदातासँग समक्ष पुगेका छन् । सत्ता साझेदार दलको गठबन्धनले सबै पालिकामा चुनावी अभियान थालेको छ ।

मनोनयन फिर्ताको अवधि अघिसम्म अलमलमा परेको गठबन्धन अहिले भने एकढिक्का भएर प्रचारमा लागेको सम्बद्ध दलले जनाएका छन् । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भने उम्मेदवार टुंगो लगाएकै दिनदेखि नै आफ्नो चुनावी प्रचार अभियान सुरु गरेको थियो । यतिबेला सबै दलका उम्मेदवारहरु समृद्धि र विकासका मुद्दासहित मतदाताको घरदैलोमा व्यस्त छन् । पालिका अध्यक्ष/प्रमुख, उपाध्यक्ष, उपप्रमुख, वडा अध्यक्ष, सदस्यका उम्मेदवारका लागि कुना–कुनाका वस्तीमा पुगेर मतदातासँग भोट माग्नुपर्ने बाध्यता र नजिकिँदै गरेको निर्वाचनको मितिका कारण यतिखेर जिल्लाका ग्रामीण वस्तीहरूमा चुनावी रौनकता छाएको हो । पालिकाको समृद्धि र विकासका योजना सहित आफ्नो घोषणापत्र तयार गरी निर्वाचनमा होमिएका दलहरूका चुनाव जित्ने आ–आफ्ना तर्क छन् ।

जिल्लामा महत्वका साथ हेरिएको तानसेन नगरपालिकामा गठबन्धनबाट नगरप्रमुखमा उम्मेदवार बनेका सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा उम्मेदवार बनेकी नेकपा माओवादीकी प्रतिक्षा गाहा सिंजालीले पूर्वाधार विकासका विभिन्न योजनादेखि सुशासन र समृद्धिका मुद्दालाई अघि सारेका छन् । उनीहरुले नगरलाई आर्थिक रुपमा समृद्ध बनाउन, सुशासन कायम गर्न, भौतिक पूर्वाधार तथा विकास निर्माण गर्न नगरवासीलाई खानेपानीको उचित व्यवस्था गर्न, शिक्षा, स्वास्थ्य, सरसफाइको उचित विकास गर्नका लागि आफुहरुलाई विजयी बनाउन मतदाता समक्ष आग्रह गर्दै आएका छन् ।

त्यस्तै एमालेका तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिएका धनेन्द्रराज घिमिरे र उपप्रमुखमा उम्मेदवारी दिएकी शसी श्रेष्ठले पनि नगरको समृद्धि र विकासको यात्रालाई अगाडि बढाउने संकल्प गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट रामपुर नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका रमणबहादुर थापा र उप–प्रमुखमा उम्मेदवारी दिएकी बालकुमारी थापा, एमालेबाट नगर प्रमुखमा उम्मेदवारी दिएका शिव अर्याल र उप प्रमुखमा उम्मेदवारी दिएकी दुर्गादेवी रानाले पनि नगरको विकास र समृद्धिको मुद्दालाई अगाडि सारेका छन् । अन्य पालिकामा पनि गठबन्धन र एमालेबाट उम्मेदवार बनेका अधिकांस उम्मेदवारहरुले सुशासन, समृद्धि र विकासका कुराहरुलाई अगाडि ल्याएका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update