Shittalpati
स्थानीय चुनाव: पाल्पामा एमालेको विरासत भत्काउने रणनीतिमा काँग्रेस

रामचन्द्र रायमाझी
पाल्पा, स्थानीय तहको निर्वाचन नजिकिएसँगै पाल्पामा एमालेको विरासत भत्काउने रणनीतिमा नेपाली काँग्रेस लागेको छ । २०७४ यता नेतृत्व तहमा एमालेको हालीमुहाली हुँदै आएको यहाँ काँग्रेस भने भत्काउने कसरतमा लागेको हो । २०४८ सालमा भएको संघीय निर्वाचनमा तीनवटै सिटका साथै नगर प्रमुख र जिल्ला विकास समिति आफ्नो बचश्व राखेको नेपाली काँग्रेसले २०७४ सम्मका संघीय र स्थानीय निर्वाचनमा आफ्नो शाख गुमाएको थियो । एमालेको विरासत भत्काउदै काँग्रेसले आफ्नो शाख फर्काउन गठबन्धनको साथ लिएर चुनावी मैदानमा उत्रिएको छ ।

जिल्लामा महत्वका साथ हेरिएको तानसेन नगरपालिकाको नेतृत्व हाल एमालेको हातमा छ । तर पार्टी विभाजनका कारण वैशाख ३० गते हुन लागेको निर्वाचनमा एमालेलाई ठूलो असर पर्ने विश्लेषकहरु बताउँछन् । जिल्लाको सदरमुकामको नगर प्रमुखमा कुन दलले जित हात पार्ला भन्नेमा धेरैले चासो राखेका छन् । कतिले लामो समय एमालेले नेतृत्व गरेको नगर अब काँग्रेसको हातमा जान सक्ने आंकलन गरेका छन् भने केहीले एमाले विभाजनको असर तानसेनमा नपर्ने बताएका छन् । यहाँ काँग्रेसले जसरी भए पनि नेतृत्व आफ्नो हातमा पार्न पाँच दलीय गठबन्धनको साथ लिएको छ, भने एमालेले कुनै पनि हालतमा नेतृत्व अर्कोलाई नसुम्पिने दाउमा छ । काँग्रेसले शैक्षिक व्यक्तित्व तथा कुशल व्यवस्थापक सन्तोषलाल श्रेष्ठलाई नगर प्रमुखको उम्मेदवारी बनाएको छ भने एमालेले पार्टी अध्यक्ष तथा शैक्षिक व्यक्तित्व धनेन्द्रराज घिमिरेलाई उभ्याएको छ । यि दुवै नयाँ अनुहार भएकाले कडा प्रतिस्पर्धा देखिएको छ । एमालेले नेतृत्व गरेका यहाँका अन्य पालिकाहरुमा समेत काँग्रेसले आफ्नो नेतृत्व हातमा ल्याउने रणनीतिमा छ । उसले गठबन्धनको साथ लिएर यहाँका पालिकाहरुमा पनि नेतृत्व लिन कस्सिएको छ ।

स्थानीय तहको निर्वाचनका लागि पाल्पाका १० पालिका मध्ये ६ प्रमुख र उप प्रमुखमा नेपाली काँग्रेस, २ प्रमुख र उप प्रमुखमा नेकपा माओवादी, २ प्रमुख र उप–प्रमुखमा नेकपा एकिकृत समाजवादीले सिटको भागबण्डा गरी उम्मेदवारी दिएका छन् । गठबन्धनले २०७४ सालमा जितेका वडाहरु सोही पार्टीलाई, एमालेले जितेका स्थानमा दोस्रो स्थानमा रहेको पार्टीलाई दिने गरी भागबण्डा मिलाएका छन् । यहाँ रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिकाको नेतृत्व पनि हाल एमालेकै हातमा छ । यि स्थानीय तहमा जसरी पनि नेतृत्व काँग्रेस सहितको गठबन्धनले लिने गरी चुनावी अभियानमा दलहरु लागेका छन् । यहाँका दलहरुले विगतका नारालाई नै निरन्तरता दिएका छन् ।

सत्ता गठबन्धन दल नेपाली काँग्रेसले केही नयाँ योजना ल्याए पनि अधिकांस पुरानै छन् । एमालेले पनि उही पुरानै योजना र कार्यक्रमलाई प्राथमिकता दिएको छ । नेपाली काँग्रेसले शिक्षा, स्वास्थ्य र पर्यटनको पहिचान बोकेको पाल्पालाई नमूना जिल्ला बनाउने योजनाका साथ अगाडि बढेको जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताए । नेकपा एमाले पाल्पाले पनि स्वास्थ्य, शिक्षा, पर्यटन तथा कृषि पशु रोजगारीमा केन्द्रित गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य सडक, खानेपानी लगायत जनतासँग प्रत्यक्ष सरोकार रहेका विषयहरु निर्वाचित जनप्रतिनिधिहरुले सम्बोधन गर्ने नेकपा एमालेका युवा नेता ठाकुर गैरेले बताए । आगामी स्थानीय निर्वाचनका लागि पाल्पामा १४ दल दर्ता भएता पनि ५ दलिय गठबन्धन र नेकपा एमाले बिच नै मुख्य प्रतिस्पर्धा देखिएको छ । बैशाख ११ र १२ गते उम्मेदवार मनोनयन दर्ता गरेपछि राजनीतिक दलहरु प्रसार–प्रसारका लागि पालिकादेखि वडा–वडामा घरदैलो अभियानमा जुटेका छन् । मतदातालाई रिझाउनका लागि यहाँका राजनीतिक दलहरुले विगतमा जस्तै यस पटक पनि घोषणा पत्रलाई निरन्तरता दिएका छन् । तर विगतमा निर्वाचन जितेका दलहरुले घोषणापत्र अनुसार काम नगर्दा मतदाता भने असन्तुष्ट छन् ।

पाल्पामा रहेका दुई नगरपालिका र आठ गाउँपालिकाको ८१ वडामा ४ सय २५ जना प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिका लागि एक हजार एक सय ३३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यस अघि २०७४ सालको स्थानीय निर्वाचनमा १० पालिकाको ६ वटा प्रमुख र ७ वटा उप प्रमुखमा नेकपा एमाले, ४ प्रमुख, ३ उप प्रमुखमा नेपाली काँग्रेस, ८१ वडा मध्ये, ४१ वटा वडामा नेकपा एमाले, ३६ वडामा नेपाली काँग्रेस र ४ वडामा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो । यहाँका ९ वटा स्थानीय तहमा सत्ता गठबन्धनले आ–आफ्नै चुनाव चिन्हबाट उम्मेदवारी दिएका छन् भने, तानसेन नगरपालिकामा गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले काँग्रेसको निर्वाचन चिन्हमा रुखबाट उम्मेदवारी दिएका छन् । १ लाख ९९ हजार ६ सय ९० जना मतदाता रहेको पाल्पामा १ सय १८ मतदान स्थल र २ सय ४७ मतदान केन्द्र रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update