Shittalpati
पार्टी बचाउन नेतृत्वलाई खबरदारी !

रमा पन्त
देश र जनताको निम्ती गठित नेपाली काँग्रेस । अन्याय अत्याचारको विरोधमा आवाज उठाएर जहानियाँ राणा शासनको अन्त्य, निरङ्कुशताको अन्त्य गरी प्रजातन्त्रको स्थापना गरेको नेपाली काँग्रेस । त्यसैले त म काँग्रेस हुनुमा गर्व गर्छु । नेपाली काँग्रेस बिपीको दुरदर्शी विचार, गणेशमानको त्याग, सुवर्णशमशेरको समर्पण, कृष्णप्रसादको निष्ठा र इमान्दारीता गिरिजाप्रसादको सक्रियता शुसिल कोइरालाको निष्ठावान र इमान्दारीताले नेतृत्व गरेको पार्टी आज आएर राष्ट्रियता, प्रजातन्त्र र समाजवादको वास्तविक धारणा कुल्चेर, ब्यक्तिगत स्वार्थका कारणले आलोचित भएको देख्दा इमान्दार कार्यकर्ताको मन दुख्नु स्वभाविक नै हो ।

विभिन्न आन्दोलनको नेतृत्व गरेको नेपाली काँग्रेस, आज आएर स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको चारैतिर असन्तुष्टि र गठबन्धन विरुद्धका स्वतन्त्र उम्मेदवारिको लहर शसक्त रुपमा उठेको देखिन्छ कि न ? सबैभन्दा बढी शिर्षस्थ नेताहरुको जिल्ला डढेल्धुरा, तनहुँ, चितवन, कैलाली जिल्लामा बढी प्रभाव देखिएको छ । यस अतिरिक्त हरेक जिल्लामा पार्टीबाट अलग हुनेको लर्को नै लागेको छ । नेपाली काँग्रेसका पुराना, निष्ठावान, इमान्दार, वैचारिक अडान भएका नेता र कार्यकर्ताहरु यस श्रेणीमा देखिएका छन् । वास्तवमा नेपाली काँग्रेस देश र जनताका लागि सर्वोत्तम हितमा निर्णय गर्ने पार्टी हो, तर आज चारैतिर बाट (केन्द्रीय तह देखि जिल्ला सम्म) नेपाली काँग्रेस सत्ता केन्द्रित राजनीतिको बाटोमा हिडेको, आफ्नो बिचार र सिद्धान्तबाट विचलित भएको, नेतृत्व पँक्ति सत्ता र भौतिक सम्पत्तिको आर्जनमा केन्द्रित भएको भन्ने आरोपलाई अहिलेको स्थानीय निर्वाचनको सँघारमा अझ बढी चर्चाको विषय बनेको छ । यसले काँग्रेस माथि ठूलो प्रश्न चिन्ह खडा गरेको छ । पार्टीका इमान्दार कार्यकर्ताको चरित्र र राजनैतिक हत्या गरेर धन ,डन, परिवार, चाकरी/चाप्लुसी गर्ने हनुमानेहरुको बाहेक अरु सबै नेपाली काँग्रेस नै होइनन् भन्ने संकुचित सोचले नेतृत्व पंति ग्रस्त भएर पो हो कि भन्ने शंका उत्पन्न हुन्छ ।

आज चारैतिरबाट पार्टीमा असन्तुष्टि, नेतृत्वप्रति आलोचना,र स्वतन्त्र उम्मेदवार दिनु पर्ने बाध्यात्मक परिस्थिति किन बन्यो ? के नेतृत्व वर्गले शक्ति पद र पैसाका लागि मात्र काम गर्ने हो त ? आफ्ना इमान्दार कार्यकर्तालाई डराएर, धम्काएर चर्को र खोक्रा भाषणले संगठन बलियो भएको मान्न सकिदैन । किन कि यदि संगठन राम्रो भएको भए पक्कै पनि आज नेपाली काँग्रेस दोस्रो पोजिसनमा हुने थिएन होला ? पार्टीको यस्तो परिस्थिति सिर्जना हुनुको कारण के हो ? यसको छलफलतर्फ लाग्ने कि डराउने , धम्काउने अथवा पार्टीबाट नै निष्काशन गर्ने ? यो पार्टी संगठनको कस्तो नीति, नियम र तरिका हो ? हिजो नेपाली काँग्रेसको संगठनमा लागेर काम गर्दै गर्दा परिवार गुमाएका, सर्वश्व गुमाएका, घाइते भएका, आन्दोलनमा जेल, नेल खाएका, इमान्दार निष्ठावान कार्यकर्ता र उनका परिवारहरुले आज अपमान मात्र पाउने हो त ? त्यो उनीहरुको रहर थियो कि बाध्यता ? कसले बुझ्ने उनीहरुको मर्म ! आज पार्टीको नेतृत्वले यो जनताको भावना नबुझेको कि बुझ्न नखोजेको ? हुन त पार्टीको वर्तमान अवस्था हेर्दा पद प्राप्तिको लागि इमान्दारीता पूर्वक संगठनमा लागेर त्यति दुःख गर्नुपर्छ जस्तो लाग्दैन । किनकी जसले पार्टिको योगदान गरेकालाई अपमान गर्छ, जसले चर्को भाषण गर्छ ,जसले नेताहरुको फेरो समात्छ उही ब्यक्ति उच्च मूल्यांकनमा परेको देखिन्छ । यसको ज्वालन्त उदाहरण हो नेपाली काँग्रेसले अन्याय अत्याचारको विरुद्धमा आवाज उठाउदै हरेक आन्दोलनको नेतृत्व गरेता पनि पार्टी पहिलो हुन नसक्नु, पार्टीका नेतृत्व वर्गहरु प्रत्यक्ष निर्वाचनमा नलडेर समानुपातिकमा बस्नुले प्रष्ट बुझिएको छ, कि वर्तमान नेतृत्वले जनताको भावना अनुसार काम गर्न सकेको देखिदैन ।

आजको मुख्य समस्या कतै नेपाली काँग्रेसको वर्तमान नेतृत्व कै कारणबाट इतिहास बिर्सिएर भविष्यमा नेपाली काँग्रेसको अस्तित्व नै मेटाउने त होइन ? म जन्मजात काँग्रेस हुँ । किन भने म काँग्रेस परिवारमा जन्मे, हुर्के र बढे । जतिबेलादेखि मैले आफ्नो होस् सम्हाले त्यतिबेलादेखि मेरो घरमा दाजुहरुले बिपिका सैद्धान्तिक एजेण्डा, काँग्रेसका निति तथा निर्देशनहरु पढेर ब्यबहारमा लागु गरेको पाए । रातदिन जनताको सेवामा समर्पित मेरो दाजुको कपिलवस्तुमा काँग्रेसको नेतृत्व गरेकै कारणले हत्या भयो । मेरो बिबाह पनि पाल्पामा नेपाली काँग्रेस मै समर्पित जीवन साथि पाए । विवाह पश्चात पनि कैयौ पटक श्रीमानको पार्टीको गिरफ्तारी त कहिले आक्रमणमा परि घाइते हुनु आज जस्तो सजिलो पक्कै थिएन होला ? त्यति मात्र कहाँ हो र ३ वर्षकी छोरी काँग्रेसको छोरी भनेर टाउको समेत फुटाएको कहाँ बिर्सेकिछु र ! पाल्पा जिल्लाका हरेक आन्दोलनमा सहभागी हँुदै आजसम्म पनि (निरन्तर ३४ वर्ष सम्म) गर्दै आएकोले म नेपाली काँग्रेस पार्टीबाट अलग कहिले पनि हुन सकिन र सक्दिनँ पनि तर नेताहरुको दास बन्न पनि सक्दिन् ।

यदि पार्टीलाई कसैले गलत तरिकाले लैजान खोजे सच्चा कार्यकर्ताहरुले खबरदारी मात्र हैन आवश्यक परे संघर्ष गरेर खराब नेतृत्व फेर्न पनि सक्नु पर्छ भन्ने मेरो धारणा छ । म नेपाली काँग्रेस पार्टीको सच्चा र इमान्दार सिपाही हुँ , पार्टी रहिरह्यो भने म र मेरो अस्तित्व रहनेछ भन्ने कुरा मैले राम्ररी बुझेकी छु । पार्टीका सम्पूर्ण सघर्षशिल साथिहरुलाई हार्दिक अनुरोध गर्दछु कि, वर्तमान नेतृत्वले गरेको गलत निर्णयको कारणले सिङ्गो पार्टी नै धरापमा पर्ने संभावना देखिएको छ । त्यसैले तपाईं हामी पार्टीका सच्चा सिपाही मिलेर अवसरवादीहरुबाट पार्टी र संगठन बचाउनु तर्फ लागौं । स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका सबै उम्मेदवारहरुलाई भारी मतले बिजयी गराऔं । त्यसपछि मौका पाएमा आफ्नो पार्टीमा ब्यापक छलफल गरौला नत्र पार्टी भित्रै संघर्ष गरांैला । पार्टी कसैको पेवा होइन् । आजका जस्ता पद भोलि पनि आउन सक्छन् । त्यसैले तपाईं हामी एकजुट भएर खराब नेतृत्वका विरुद्धमा आवाज उठाउँदै नेपाली काँग्रेसका सम्पूर्ण कार्यक्रमहरुमा एकमत भएर पार्टीलाई जीवन्त राख्ने कार्यमा लागांै । काँग्रेसलाई यतिबेला तपाईंको मेरो र हामी सबैको खाँचो परेको छ । आज काँग्रेसलाई बचाँउनु हामी सबैको प्रमुख कर्तव्य हो । “जय नेपालको नाराले, मुक्ति पाउँछ साराले’’ भन्ने कुरालाई मनन् गर्दै मेरो काँग्रेसस, तपाईंको काँग्रेस र हामी सबैको काँग्रेस भन्ने मुल नारा लिएर घर घर जाउँ, काँग्रेस जिताऊ अभियानमा जुट्न सबैलाई हार्दिक अनुरोध गर्दछु । जय नेपाल !
(लेखक नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्य समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update