Shittalpati
मतदानका सामग्री मिलाउँदै निर्वाचन कार्यालय

पाल्पा,जिल्ला निर्वाचन कार्यालय पाल्पाले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका चाहिने सामग्री मिलाउन जुटेको छ । कार्यालयका कर्मचारीहरुले मतदान स्थलमा चाहिने आवश्यक सामग्रीहरुको एक÷एक गर्दै रुजु गरी पोका–पोका बनाई तयारी अवस्थामा राख्न थालेका छन् । मतदान केन्द्रलाई आवश्यक पर्ने मतपत्र बाहेकका सामग्रीहरु संकलन गरी जिल्ला निर्वाचन कार्यालय पाल्पाले मतदान केन्द्रमा खटिने मतदान अधिकृतहरुलाई जिम्मेवारी दिने सरसमान तयारी अवस्थामा राखेको छ । निर्वाचन आयोगले ५८ प्रकारका मतदान केन्द्रलाई चाहिने सामग्रीहरु पठाई सकेको छ । केही सामग्रीहरु जिल्लाबाट खरिद गरिने जिल्ला निर्वाचन कार्यालय पाल्पाका कार्यालय प्रमुख रुपकमागत अर्यालले बताए । ७० प्रकार सम्मका सरसमानहरुको एक ÷एक पोका बनाएर रुजु गर्दै सरसमान तयारी अवस्थामा राखिएको उनले बताए । मतदान केन्द्रलाई चाहिने मत पेटिका, नमुना मतपत्र, मुचुल्कापत्र, मतदाता शिक्षा पर्चा, पम्पलेट, स्वस्तीक छाप, स्टाम प्याड, कापि, कलम लगायतका अत्यावश्यक सामग्रीहरु मिलाउने, प्याकिङ गर्ने, र स्टोर गर्ने काम भईरहेको जिल्ला निर्वाचन कार्यालयका लेखा अधिकृत विनोद घिमिरेले बताए । १ लाख ९९ हजार ६ सय ९० जना मतदाता रहेको पाल्पामा १ सय १८ मतदान स्थल र २ सय ४७ मतदान केन्द्र रहेका छन् । यहाँ दुई नगरपालिका र आठ गाउँपालिकाको ८१ वडामा ४ सय २५ जना जनप्रतिनिधी प्रत्यक्ष नर्वाचित हुँदै छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update