Shittalpati
मातृ दिवसको औचित्य

आमाको मुख हेर्ने औंसीलाई मातातीर्थ औंसी भनिन्छ । यो प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइन्छ । आमा र सन्तानबीचको सम्बन्ध सबैभन्दा पवित्र हुन्छ । शास्त्रहरुमा मातालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । मातृदिवसका दिन श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यो दिनलाई मातातिर्थ औंसी, मातृऔंसी, मातृ दिवस र मदर्स डे पनि भन्ने गरिन्छ । आज पनि माताप्रति आस्था, श्रद्धा वा सम्मान प्रकट गरिदै छ । आफूलाई जन्मदिने आमाको मुख हेर्न टाढाटाढाबाट सन्तान आमा भएको ठाउँमा आएका छन् । आफूलाई नौ महिनासम्म गर्भधारण गरेर जन्म दिने आमा साँच्चै महान् छिन् । जन्मपछि पालनपोषण गर्ने, हुर्काउने आमा पूजनीय,आदरणीय, सम्माननीय र अनुकरणीय छिन् । आमा, जननी, माता, मातृ, माँ, मदर, मम, ममी आदि नामले विश्वभरि नै परिचित र पूजित छिन् । आमाको त्याग, तपस्या बलिदानबाट नै सृष्टिले निरन्तरता पाएको छ । त्यसैले मातृऋण तिर्न कठिन छ । हरेक छोराछोरीले आमाको ऋण तिर्न नसकिने भएकै कारण आमाप्रति श्रद्धा प्रकट गर्ने गरिएको पाइन्छ ।
आमाबाट टाढा रहेकाहरु पनि आज आमालाई भेट्दै छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधनहरू मार्फत सम्झने छन् भने आमा नभएकाहरूले पनि आमाको आत्माको शान्तिको कामना गर्दै श्राद्ध–तर्पण गरी मातृत्वको स्मरण गर्छन् । यो आफैमा राम्रो र संस्कारिक हो । तर वर्षको एक पटक मात्र आमा भेट्ने र सामाजिक सञ्जालका भित्ताहरूमा मात्रै सजाएर आमा सम्झिने प्रवृत्तिको विकासलाई भने सकारात्मक मान्न सकिदैन । हिजोआज बढ्दो पश्चिमीकरण र तिनका मूल्य–मान्यता अँगाल्ने होडमा धेरै आमाहरू अवहेलनामा परिरहेका छन् । आफू सक्षम नबनुञ्जेल काखमा लुटपुटिने र सक्षम बनिसकेपछि तिनै आमालाई साहारा विहीन बनाउने सन्तानहरू अहिले बढिरहेका छन् । यो अत्यन्त दुःखको कुरा हो । हाम्रै समाजमा पनि आमाहरू छोराबुहारीको दुव्र्यवहार सहेर बसिरहेका देखिन्छन् । छोराबुहारी आरामदायी सवारीमा हुइँकिरहँदा सडकका पेटीमा आँशु बगाउँदै बसेका आमाहरू हामीले देखेकाछौं । यस्तो अवस्थामा सन्तानहरूले आफ्नो दायित्व सम्झन जरुरी छ । वर्षमा एकदिन औपचारिकरूपमा आमाको सम्मान गरेरमात्र हुँदैन यहाँ हरेक दिन मातृदिवस बन्नुपर्छ । तसर्थ माताप्रति सधैं श्रद्धा, सम्मान, आदर र हेरचाह गर्न सकेमात्र मातृ दिवसको औचित्य रहन्छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update