Shittalpati
लोकतान्त्रिक मगर मोर्चा पाल्पाको नयाँ नेतृत्व चयन

पाल्पा, लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा पाल्पाको नयाँ नेतृत्व चयन भएको छ । मोर्चाको बिहीबार तानसेनमा भएको एकता भेलाले दिलबहादुर गाहाको संयोजकत्वमा ३५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको उपसंयोजक हुमा सूर्यबंशी रहेकी छन् । नेकपा एमालेको लोकतान्त्रिक मगर संघ र नेकपा माओवादी केन्द्रको नेपाल राष्ट्रिय मगर मुक्ति मोर्चा बीच एकिकरण भए पश्चात बनेको भातृ संगठन लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा गठन भएको थियो ।

लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा भेलालाई नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद तुलाराम घर्तीले सम्बोधन गरेका थिए । भेलालाई सम्बोधन गर्दै सांसद घर्तीले नेतृत्व तहमा मगर समुदायपछि परेको बताए । उनले मगर एकढिक्का नभएसम्म नेतृत्व तहमा सधै पछि पर्ने भन्दै एक भएर जान मगर समुदायलाई आग्रह गरे । मोर्चाका केन्द्रीय अध्यक्ष भोज विक्रम बुढामगरले मगर जाती पछाडी पर्नुको कारण आफ्नो पहिचान र आनिबानीमा परिर्वतन नल्याउनु रहेको धारणा व्यक्त गरे । भेलामा प्रदेश सांसद नारायण आचार्यले मगरहरुको भाषा, संस्कृति र पहिचान हराउदै जान थालेकाले त्यसको संरक्षण र प्रवद्र्धनमा मोर्चाले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा लोकतान्त्रिक राष्ट्रिय मगर संघ प्रदेश पाँचका इञ्चार्ज लिला राना, मोर्चाका प्रदेश पाँच संयोजक डिबी पुन, लोकतान्त्रिक राष्ट्रिय मगर संघका केन्द्रीय सदस्य तथा तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगर, नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष केहर सिंह राना, नेकपा जनजातिका नविन थापा, नेपाल मगर संघका जिल्ला अध्यक्ष तेजबहादुर घर्ती लगायतले मगर समुदाय एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बेला आएको बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update