Shittalpati
लोकतन्त्र दिवसको औचित्य

नेपालमा लोकतन्त्र स्थापना भएको पनि १६ वर्ष भयो । यसबीचमा धेरै सरकारहरु बने तर जनताले फरक महसुस गर्न सकेनन् । जनताले काँग्रेस र कम्युनिस्टको शासन त पाए तर लोकतन्त्रमा हुनुपर्ने जनताको शासन महसुस गर्न पाएनन् । जोसुकै सत्तामा गए पनि ती जनमुखी हुन सकेनन् । यस हिसाबले जनताले वास्तविक रूपमा लोकतन्त्रको महसुस गर्न नसकेका हुन् । लोकतन्त्रको यो कालखण्डमा विकास, लोकतन्त्र/गणतन्त्रका सवालमा अनेकौं विषय बहसहरू भए/भइरहेका छन् । तर, ती बहसले लोकतन्त्र/गणतन्त्रलाई संस्थागत गर्न उपयुक्त बाटो पहिल्याउन सकिरहेको छैन ।

देश त लोकतन्त्रमय भयो, तर निरंकुशताबाट पिल्सिएका पार्टीहरू अझै लोकतान्त्रिक बन्न सकेका छैनन् र यिनका नेताहरू विगतको अप्रजातान्त्रिक शासकहरूको शैलीबाटमुक्त हुन सकेका छैनन् । लोकतन्त्रका नारा अलाप्ने पार्टीहरू नै लोकतान्त्रिक हुन नसक्नु सबैभन्दा ठूलो दुर्भाग्य हो । यसको असर स्वाभाविक छ, लोकतन्त्र कमजोर बन्दैछ, हालैका दिनहरूमा सञ्चारित कुराहरूले यसैतर्फ संकेत गरेका छन् । यो क्रम बढ्दै गएमा लोकतन्त्रको भविष्य नै धरापमा पर्न सक्छ, जुन नेपालका निम्ति थप दुर्भाग्य सावित हुनेछ । लोकतन्त्रले त जनताका पीरमर्कालाई नजिकबाट आत्मसात् गर्नसक्नुपर्छ । अहिले मुलुकमा तीन तहको सरकार छ । तर पनि आमनागरिकले समृद्धि र विकासको वास्तविक अनुभूति गर्न सकेका छैनन् । अझै दुःखी, गरिब र विपन्न जनताको चुलोमा राम्ररी आगोसमेत बल्न सकेको छैन । भ्रष्टाचार, अनियमितता, कमिसनतन्त्रको जरा अहिले पनि मौलाएकै अवस्थामा छ । राजनैतिक नेतृहरुले लोकतन्त्र दिवस मनाइरहँदा आफ्ना तमाम नागरिकको अवस्थाबारे गहन रूपले सोचविचार र विश्लेषण गर्नुपर्छ । दलहरूले व्यक्तिगत र दलीय स्वार्थभन्दा बृहत्तर राष्ट्रिय स्वार्थमा ध्यान केन्द्रित गर्दै मुलुकलाई विकास र समृद्धिको मार्गमा लैजानेतर्फ अग्रसर भई लोकतान्त्रिक संस्कार र व्यवहारको विकास गर्न सके मात्र लोकतन्त्र दिवस मनाउनुको औचित्य रहन्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update