Shittalpati
पाल्पाका दशवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय

पाल्पा, आसन्न स्थानीय तहको निर्वाचन गराउनका लागि पाल्पाका दशवटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् ।

जिल्लाका सबै पालिकामा निर्वाचन कार्यालय स्थापना गरेर काम अगाडि बढाइएको निर्वाचन कार्यालय पाल्पाकी सूचना अधिकारी कल्पना पौडेलले जानकारी दिइन् । उनका अनुसार तानसेन नगरपालिका वडा नं ६ को वडा कार्यालय भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जिल्ला अदालत पाल्पाका न्यायधीश एवं मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले कार्यालयको उद्घाट गरेका हुन् । उनले सबैको सहयोगमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे । जिल्लास्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, पत्रकारहरूको सहभागितामा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो । उक्त निर्वाचन भयरहित, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न जिल्लाभरका दश वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्थासमेत हेर्ने छ । उसले मतदाता नामावली टाँस्ने, उम्मेदवारी दर्ता, मतदान गराउनेदेखि मतगणना गर्ने कामसमेत गर्ने छ । कार्यालय स्थापना गर्दा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सम्बन्धित जिल्लाको निर्वाचन कार्यालय, अन्य कुनै सरकारी कार्यालय र सरकारी स्वामित्वमा रहेको कार्यालयको भवन प्रयोग गर्नुपर्ने सर्त निर्वाचन आयोगले तोकेको छ ।

पाल्पाको मुख्य निर्वाचन अधिकृतमा पाल्पा जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसी रहेका छन् । उनी तानसेन नगरपालिकामा खटिएका छन् । त्यस्तै तिनाउ गाउँपालिकाको निर्वाचन अधिकृतमा जनार्दन अधिकारी, निस्दी गाउँपालिकामा दुर्गा प्रसाद बस्याल, पूर्वखोला गाउँपालिकामा मधु अर्याल(खनाल), बगनासकाली गाउँपालिकमा रवि न्यौपाने, माथागढी गाउँपालिकामा मिना अर्याल, रामपुर नगरपालिकामा श्याम प्रसाद श्रेष्ठ, रम्भा गाउँपालिकामा कृष्णप्रसाद भण्डारी, रिब्दीकोट गाउँपालिकमा टिकाराम अर्याल, र रैनादेवी छहरा गाउँपालिकामा टोलराज उपाध्याय खटिएका छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update