Shittalpati
माथागढीले निर्माण गर्‍यो मातृभाषामा पाठ्यपुस्तक

पाल्पा, जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गरी पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको माथागढी गाउँपालिकाले मातृभाषमा पाठ्यपुस्तक समेत निर्माण गरेको छ । गाउँ सरकारले स्थानीय पाठ्यक्रममा आधारित रहेर पठनपाठन गर्दै आएका गाउँपालिका भित्रका बालबालिकाहरुका लागि अहिले मातृभाषाका पाठ्यपुस्तक तयार गरेको हो ।

‘राष्ट्रिय शिक्षा नीति, २०७६’ले पनि स्थानीय तहलाई मातृभाषा सम्बन्धी पाठ्यक्रम बनाउन सक्ने अधिकार दिएको छ । पाठ्यक्रम विकास केन्द्रका अनुसार १ देखि ८ कक्षासम्मको मातृभाषाको पाठ्यपुस्तक बनाउने अधिकार स्थानीय तहलाई छ । स्थानीय तहले आफ्नो क्षेत्रको मातृभाषा, लिपि, साहित्य एवं संस्कृतिको संरक्षण तथा विकासका लागि सो भाषाको पठनपाठन गर्न सक्छ । सोही अधिकारको प्रयोग गरी गाउँपालिकाले अहिले मातृभाषाका पाठ्यपुस्तक तयार गरेको हो । मगर समुदायको बाहुल्यता रहेको गाउँपालिकामा मगरी मातृभाषाको पाठ्यपुस्तक तयार गरिएको हो । अहिले कक्षा १ र २ का लागि मातृभाषाका पाठ्पुस्तक तयार गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । गाउँपालिका भित्रका तीन विद्यालयमा अहिले मातृभाषा मगर ढुटमा अध्ययन– अध्यापन हुने गरेको छ ।

अहिले नवजागृत प्रावि, जाउपोखरा आधारभूत र धारादेवी माविमा मगर भाषामा अध्ययन हुँदै आएको गाउँपालिकाका शैक्षिक कार्यक्रम संयोजक अशेष भट्टराईले बताए । उनले भने ‘यहाँ अहिले मातृभाषाका पाठ्यपुस्तकबाट अध्ययन अध्यापन हुँदै आएको छ ।’ गत वर्षदेखि नवजागृत प्रावि, जाउपोखरा आधारभूतमा शिक्षकहरुले पाठ्पुस्तक विना नै मातृभाषामा पढाउदै आएपनि धारादेवीमा भने आगामी शैक्षिक शत्रदेखि सुरु हुने गाउँपालिकाका शिक्षा शाखा संयोजक गजेन्द्र पन्थीले बताए । उनका अनुसार मगरी मातृभाषाको पाठ्यपुस्तक देवनागरी लिपीबाट तयार पारिएको हो । माथागढीमा यस अघि नै कक्षा १ देखि ८ सम्मको पाठ्क्रममा आधारित पाठ्पुस्तक निर्माण गरिएको छ । स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो माथागढी’ नामक पाठ्यपुस्तक तयार गरी पठनपाठन गरिदै आइएको छ । जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षा सम्बद्ध सरोकारवाला लगायतसँग छलफल गरी पाठ्यपुस्तक तयार गरिएको थियो । माथागढीको चिनारी, स्थानीय तरकारी, माथागढी गाँउपालिकाका विशिष्ट व्यक्तिहरू, धार्मिक स्थलरू, विविध जातजातिहरू, स्थानीय चाडपर्वहरू, न्वारन र छेवारोको परिचय, स्थानीय बोलीचाली र लिपि मगरी भाषाका शब्दहरू, स्थानीय बाजाहरू, झ्याउरे नाँच, स्थानीय व्यवसाय, स्थानीय खेल, स्थानीय खानेकुराहरू, स्थानीय पर्यटन, हाम्रा स्रोत तथा साधनहरू लगायतका विषयवस्तु पाठ्यपुस्तकमा समेटिएका छन् । आधारभूत तहको ८ सय पूर्णाड्ढ मध्ये सय पूर्णाड्ढको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान अनुसार गाउँपालिकाले अनिवार्य र ऐच्छिक विषय बाहेक सय पूर्णाड्ढको स्थानीय पाठ्यक्रमको विषयवस्तु विद्यालयहरुले पढाउनुपर्नेछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update