Shittalpati
स्थानीय तह निर्वाचन : रामपुरको उपमेयरमा १० जनाको दावी

पाल्पा, आसन्न स्थानीय तह निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । विभिन्न राजनीतिक दलबाट आकांक्षीहरूले आफ्नो दाबेदारी पेस गर्ने क्रम जारी छ । अहिले एउटै पार्टीबाट पनि धेरै जनाले नगरप्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष र वडा अध्यक्षमा दावी गरिरहेका छन् ।

पाल्पाको रामपुर नगरपालिकामा पनि नेताहरूले आफ्नो दाबी पेश गरेका छन् । यहाँ उपमेयरका लागि एउटै दलका १० जनाले दावी गरेका छन् । काँग्रेस नगरसमितिको बैठकमा नगरपालिकाको आगामी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहेकाहरूको दाबेदारी प्रस्तुत गर्ने क्रममा १० जनाले दावी गरेका हुन् ।

उपमेयरमा काँग्रेसको तर्फबाट दावी गर्ने आकांक्षीहरुमा महाधिवेशन प्रतिनिधिहरु दुर्गादेवी भण्डारी, विष्णुमाया ढकाल, सावित्रा गहिरे, सरस्वती डोटेल, कमला बास्ताकोटी, सितादेवी डोटेल, पवित्र ढकाल पौडेल, भगवतीदेवी खनाल, बालकुमारी थापा र बुद्धिप्रकाश रेग्मी रहेका छन् ।

उपमेयरमा दावी गरेका मध्ये झण्डै ३० वर्षदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा निरन्तर सक्रिय दुर्गादेवी भण्डारीले यस पटक आफूले पाउनु पर्ने अडान राखेकी छन् । यसअघि पनि आफूले दावी गरेकोमा सहिद पुत्री विष्णुदेवी घिमिरेले दावी गरेपछि आफूले छोडेको तर अहिले भने आफूले पाउनु पर्ने उनको भनाई छ । पत्रकार सिता डोटेलले पनि उपमेयरमा दावी गरेकी छन् । लामो समय पत्रकारीतासँगै सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएकी डोटेलले आफुले पार्टीमा योगदान गरेको र नगरवासीको चाहानालाई पुरा गर्न उपमेयरमा दावी गरेको बताइन् । सावित्रा गहिरे पनि उपमेयरको आकंक्षीका रुपमा देखिएकी छन् । लामो समयदेखि सामाजिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल गरिहेले पार्टीले योगदानको उच्च मुल्याङ्कन गर्दै उपमेयरको टिकट दिनुपर्ने दावी गरेकी छन् । अन्य आंकाक्षीहरुले पनि पार्टीमा आफुहरुको योगदान रहेकाले उपमेयरमा दावी गरेको बताएका छन् । वर्तमान उपमेयर विष्णुदेवी आचार्यले भने अहिले मेयरमा दावी गरेकी छन् ।

मेयरका लागि भने यसअघि नै चर्चा भए अनुसार वर्तमान मेयर रमण बहादुर थापा, वर्तमान उपमेयर विष्णुदेवी आचार्य, पार्टीका प्रदेश सदस्य कल्प पौडेल, जिल्ला उपसभामपति ज्ञानबहादुर गाहा, नगर सभापति नेत्र प्रसाद भट्टराई, महाधिवेशन प्रतिनिधि खगेश्वर पाठक र पूर्व प्रशासक तथा प्रदेश प्रतिनिधि श्यामकान्त खनालले दावी गरेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update