Shittalpati
गठबन्धन अलमलमा

स्थानीय निर्वाचनको मिति नजिकिएको छ । उम्मेदवारी दर्ता गर्ने समय आउन अब ६ दिन मात्र बाँकी छ । सत्तारुढ दलले यस चुनावमा तालमेल गरी प्रतिस्पर्धा गर्ने जनाए पनि अहिलेसम्म अलमलमै छ । सत्ता गठबन्धनले चुनावी तालमेलका लागि बनाएको मतभारको मुख्य आधारलाई सहयात्री दलहरूले आफूअनुकूल व्याख्या गर्दा पद बाँडफाँटमा सकस देखिएको छ । माओवादी र एकीकृत समाजवादीले बढी मतभार देखाएर पद मागेको काँग्रेस नेताहरूले टिप्पणी गरेका छन् । माओवादी र एकीकृत समाजवादीका नेताले भने ठूलो पार्टी भनेर काँंग्रेसले दम्भ देखाएको आरोप लगाउन थालेका छन् । स्थानीय तह २०७४ को निर्वाचनमा प्राप्त मतको भार र पार्टीको पछिल्लो शक्तिका आधारमा पद बाँडफाँट गर्न भन्दै गठबन्धनको केन्द्रीय संयन्त्रले
चैत २९ मा जिल्लालाई निर्देशन पठाएको थियो ।

तर तोकिएको समय सीमामा केही जिल्लाले स्थानीयस्तरमा समझदारी गरे पनि अधिकांश पालिकामा गठबन्धन दलले चुनावी तालमेलका लागि पद बाँडफाँटको मुख्य गाँठो फुकाउन सकेका छैनन् । यो आफैमा विडम्वनाको कुरा हो । पाल्पामा पनि गठबन्धनबिचको गाँठो फुकाउन सकस देखिएको छ । यहाँ पटक–पटक गठबन्धनबिच छलफल भए पनि निष्कर्षमा पुग्न नसक्दा गठबन्धन नहुने सम्भावना बढेको छ । काँग्रेसले माओवादी र समाजवादीले मागेजति सिट दिन नसकेपछि गठबन्धन हुने सम्भावना घट्दै गएको हो । तालमेलकै विषयलाई लिएर पालिकास्तरमा होस् वा जिल्ला स्तरमा होस्, गठबन्धमा रहेका दलहरुबीच नियमित छलफल भैरहेको छ । परिणामतः उम्मेदवार छनौटको प्रक्रियामा अघि बढिसकेको प्रमुख सत्तासीन दल नेपाली काँग्रेस अलमलमा परेको छ । चुनावी तालमेलमा कुन दलले कुन पालिका वा वडा छोड्ने भन्ने विषयले प्राथमिकता पाउँदा वडा तहसम्म क्रियाशील भएका काँग्रेसका आम नेता तथा कार्यकर्तामा निराशा छाएको देखिन्छ । यदि सबै दललाई सबै स्थानमा सिट चाहिने भए किन गठबन्धन गरेको एक्लाएक्लै चुनावी मैदानमा उत्रिए भइहाल्छ नि ? हैन भने आम मतदाता र कार्यकर्तालाई अलमलमा पार्नु राम्रो होइन । गठबन्धन गर्ने नै हो भने छिटो भन्दा छिटो टुङ्गो लगाएर चुनावमा होमिन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update