Shittalpati
निर्वाचनको चर्चा : तानसेन नगरपालिकाको मेयरका लागि कस्तो व्यक्ति चुनावी मैदानमा उत्रनु पर्छ ?

हरी रायमाझी
पूर्व अध्यक्ष, पाल्पा उद्योग वाणिज्य संघ
तानसेन नगरपालिकामा मेयरका लागि लड्ने व्यक्ति सामाजिक, विकास प्रेमी, पारदर्शी खालको हुन जरुरी छ । तानसेन नगर घरेलु उद्योग र पर्यटन क्षेत्रको प्रचुर संभावना भएको क्षेत्र हो । तर यहाँको नेतृत्वको असक्षमता र असफलताका कारण यि क्षेत्रले गति लिन सकेका छैन् । यहाँका यि सम्भावना बोकेका क्षेत्रको योजनावद्ध ढंगले विकास गर्न सक्ने सक्षम र योग्य व्यक्ति नै नगर प्रमुखमा आउनुपर्छ र जनताले पनि ति व्यक्तिलाई मतदान गर्नुपर्छ । साथै हामी नीजि क्षेत्रका व्यक्तिहरु भएकाले पनि नीजि क्षेत्रसँग समन्वय गरेर काम गर्न रुचाउने तथा नगरको समग्र विकासको प्रत्यक्ष रुपमा काम गर्न सक्ने खुवी भएको व्यक्ति नै आउनुपर्छ । आर्थिक रुपमा जिम्मेवारी वहन गर्न सक्ने तथा व्यवसायिक रुपमा सुनसान बन्दै गएको तानसेनलाई चहलपहल बनाउन सक्ने, विदेशी दाता तथा दातृ निकायसँग समन्वय गरेर विदेशी पर्यटन ल्याउन सक्ने खुवी भएको योग्य र दक्ष उम्मेदवारलाई आमनगरवासीले चुन्नुपर्दछ ।

गोविन्द घिमिरे
तानसेन बहुमुखी क्याम्पस प्रमुख
राजनीतिक साेंच भन्दा पनि विकासको सोंच भएको व्यक्तिलाई नगरको नेतृत्वमा ल्याउनुपर्छ । लोभ लालचमुक्त व्यक्ति जो व्यक्तिगत, पारिवारिक, पार्टीगत स्वार्थभन्दा माथि उठेर समान र निस्वार्थ भावनाले समयानुकूल नगरको समग्र विकास र नगरवासीको सेवा सुविधामा उच्च योगदान दिन सक्ने व्यक्तिलाई मेयरमा चुन्नुपर्छ । नगरमा भएका सम्भावनाको खोजी गरी सोही अनुरुप उल्लेखीय कार्य गर्न सक्ने, अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने, सरल, शिक्षित, अनुभवी अनि विज्ञान र प्रविधिको समेत ज्ञान भएको व्यक्ति मेयरका लागि अहिलेको समयमा उपयुक्त हुन्छ ।

मेघराज शर्मा
वरिष्ठ पत्रकार
नयाँ भिजन र सोंच भएको व्यक्तिलाई मेयरमा चुन्नुपर्छ । तानसेनमा नयाँ सोंच र भिजन नभएका व्यक्तिहरुले नगरको नेतृत्व गर्दा तानसेनको पहिचान गुम्न पुगेको छ । तानसेन आफैमा प्रसिद्ध कमाएको शहर हो । तर यहाँको असफल नेतृत्वको कारण तानसेनको पहिचान गुम्दै गएको हो । अहिले हुन लागेको स्थानीय तहको निर्वाचनमा हामीले निकै सोच विचारका साथ योग्य व्यक्तिलाई छनोट गर्नुपर्छ । आर्थिक रुपमा सक्षम, सवल, समृद्धि कायम गर्न र विकास गर्न सक्ने भिजन भएको व्यक्तिलाई नै हामीले अघि सार्नुपर्छ । वास्तवमा कुरा गर्ने हो भने, पुरानो नगरपालिका भएर पनि तानसेनको विकास अहिले सम्म हुन नसक्नु कारण यस अघि नगरपालिकामा नेतृत्व गरेका नेतृत्व पंक्तिको असक्षमता र असफलता नै हो । आर्थिक र व्यवसायिक रुपमा अत्यन्त सम्भावना बोकेको यस नगरपालिकामा पहिलेका जस्ता नेतृत्वबाट चल्ने अवस्था छैन । अब नयाँ सोंच र भिजन भएको व्यक्ति नगरको नेतृत्वमा आउनुपर्छ ।

चित्रवलीराम सुवाल
साहित्यकार
तानसेन नगरपालिका सबै भन्दा पुरानो नगरपालिका भएर पनि विकासमा निकै पछाडी छ । तानसेन शिक्षा, स्वास्थ्य र पर्यटनको दृष्टिले राम्रो रहे पनि त्यसको विकास गर्न सकिएको छैन । यसको मूलभूत कारण हो दलहरुको घिन लाग्दो खुट्टा तान्ने पवृत्ति । तानसेन नगरको मेयर हुने व्यक्ति जुनसुकै दलबाट निर्वाचित भए पनि दलीय भागबण्डा, जातिय स्वभाव, सम्प्रादायिक भावना भन्दा माथि उठेको निष्पक्ष, विशुद्ध सामाजिक भावना भएको व्यक्ति हुनुपर्छ ।

सुरेश कर्माचार्य
अध्यक्ष, भवन तथा बाटो निर्माणकर्मी संघ, पाल्पा
अब हुन लागेको स्थानीय तहको निर्वाचनमा तन र मन दिन सक्ने खालको मेयर आउनुपर्छ । समग्र नगरको विकास गर्न सक्ने भिजन र खुवी भएको व्यक्तिलाई नगर प्रमुख (मेयर) मा चुन्नुपर्छ । तानसेनबाट जाने बसाइसराईलाई रोक्ने र बाहिरबाट तानसेन आई बसोवास गर्ने वातावरण सिर्जना गर्नु तानसेनको पहिलो आवश्यकता हो । पहिलो कुरा यहाँको जनघनत्व वृद्धि गर्ने र बसाईसराई रोक्न सके मात्र पनि यहाँको विकासले फड्को मार्न सक्छ । दोस्रो तानसेन पर्यटन क्षेत्रको सम्भावना भएको शहर हो । यसको विकास गर्न सके तानसेनको समृद्धि हुन सक्छ । त्यसैले तानसेनको समृद्धि र विकास गर्न सक्ने खुवी र भिजन भएको व्यक्तिलाई नगरवासीले आफ्नो मत दिएर जिताउनुपर्छ । लामो समयदेखि नगरका समस्या बुझेको र नगरवासीसँग परिचित व्यक्तिलाई नै हामीले मेयरको रुपमा रोज्नुपर्छ । जनताको काम गर्न खोज्ने व्यक्तिलाई हामीले सधै भरि साथ दिने छौं । यस अघिको निर्वाचनमा जे जसरी चुनाव जितेका थिए अहिले त्यस्तो अवस्था छैन । यो बिचमा आम नागरिकको चेतनामा व्यापक परिवर्तन आएको छ । जनता बुझ्न सक्ने भएका छन् । त्यसैले जनतालाई झुक्याउने खालका व्यक्तिलाई अहिलेका जनताले त्यस भन्दा टाढा नै राख्ने छन् भन्ने विश्वास छ ।

भविन्द्र गौतम
श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.पाल्पाका कम्पनी सचिव
तानसेन नगरमा जति विकास हुनुपर्ने हो त्यति हुन सकिरहेको छैन । तानसेनमा हिजो जुन दलहरुले नेतृत्व गरे उनीहरु व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न सकेनन् । जसका कारण यहाँका यातायात व्यवसायीदेखि उद्योगी, व्यापारीहरुका समस्या जस्ताको त्यस्तै रहे । विकास बजेटको दुरुपयोग र नक्सा पास गर्दै घर फाल्ने हर्कत तानसेनवासीले भुलेका छैनन् । तसर्थ यस पटकको निर्वाचनमा तानसेनवासीले धेरै सोचेर आफ्नो मत दिने छन् भन्ने लागेको छ । यस पटकको निर्वाचनमा दल होइन व्यक्ति रोज्ने सम्भावना बढी देखिन्छ । त्यसैले उम्मेदवार उठाउने र उठ्ने उम्मेदवारले यि विषयमा हेक्का राख्नुपर्छ । निर्वाचन जनता जनार्दनहरुकै विचार र हातमा अडिएको हुन्छ । कसलाई जिताउने,कसलाई हराउने भन्ने अड्कल गर्न धेरै गाहो हुन्छ । जे होस् तानसेनको सद्भावलाई कायम गर्न सक्ने, जातिय, लैङ्कि र क्षेत्रको आधारमा विकासका योजना बाड्ने होइन्, समानुपातिक ढंगले विकास गर्न सक्ने स्पष्ट भिजन भएको व्यक्ति नै मेयरको उम्मेदवार भए तानसेनवासीले बहुमत रोज्ने छन् र जिताउने छन् ।

– प्रस्तुति : रामचन्द्र रायामाझी

 

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update