Shittalpati
अर्थतन्त्र सुधार्न पर्यटन क्षेत्रलाई ध्यान देऊ

मुलुकको अर्थतन्त्र यतिबेला संकटमा छ । आयात बढेर शोधनान्तर घाटा तथा चालु घाटा उच्च भएको छ । त्यसकै प्रभावस्वरूप विदेशी मुद्रा सञ्चिति क्रमशः घट्दै गएको छ र मुलुकको अर्थतन्त्रलाई चलायमान गराउने रेमिट्यान्स समेत घटिरहेको छ । मुलुकको बाह्य क्षेत्रसँग गरिने कारोबारसँग सम्बन्धित यो अवस्थाले क्रमशः मुलुकको आन्तरिक अर्थतन्त्रमा असर पारिरहेको छ । रेमिट्यान्स घट्ने, पर्यटक आवागमन लगभग नगण्य रुपमा रहेको छ । यस्तो अवस्थामा अर्थतन्त्रका स्रोतहरुलाई चलायमान बनाउनुको विकल्प छैन । नेपालको अर्थतन्त्र धान्ने मुख्य स्रोतमध्ये पर्यटन क्षेत्र पनि एक हो । यसलाई चलायमान बनाउन सकियो भने पनि अर्थतन्त्रमा केही सुधार ल्याउन सकिन्छ । विश्वव्यापीरूपमा फैलिकएको कोभिड–१९ ले नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी आक्रान्त पा¥यो । होटल, लज, ट्रेकिङ क्षेत्र, पथप्रदर्शक आदि नराम्ररी थला परे ।

जसमा अझै पनि महत्वपूर्ण सुधारको अवस्था नदेखिनु आफैँमा विडम्बनापूर्ण अवस्था हो । त्यसो त पर्यटनका धेरै आयाम छन् । यसले एकातिर नागरिकलाई रोजगारी प्रदान गर्छ भने अर्कोतिर स्थानीयताको प्रचार–प्रसारमा सघाउ पु¥याउँछ । पर्यटकबाट हुने खर्चले धेरै होटल, लज तथा पर्यटक केन्द्रित व्यवसाय फस्टाउँछ । गाउँ–ठाउँमा पैसा आदान–प्रदान हुने हुँदा स्थानीयको आर्थिक अवस्था मजबुत हुन्छ । स्थानीयस्तरमा उत्पादित कला र सामग्रीले बजार पाउँछन् । यो आम्दानी स्थानीयले आफ्ना सन्तानको शिक्षा, स्वास्थ्य, मनोरञ्जन आदि क्षेत्रमा खर्चन पाउँछन् । यसरी पर्यटन व्यवसायले मुलुकको सिंगो अर्थतन्त्रमाथि सकरात्मक प्रभाव पारिरहेको हुन्छ । आयात र भुक्तान सन्तुलनका लागि आवश्यक पर्ने विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतका रूपमा रहेको पर्यटन व्यवसायलाई वेवास्ता गर्ने हो भने देशले ठूलो आर्थिक भार व्यहोर्नुपर्ने हुन सक्छ । पर्यटनलाई पुनर्जीवन दिनका लागि पर्यटक आगमन तथा हालको विद्यमान व्यवस्थामा तत्काल सुधार गर्नुपर्छ । यसर्थ सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन छुट्टै नीति तथा योजना ल्याउन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update