Shittalpati
नयाँ वर्ष सबैको शुभ रहोस्

नयाँ वर्ष २०७९ हाम्रो घरदैलोमा आएको छ । प्रकृतिको विधिअनुसार चक्रवत घुम्दै फिर्दै नयाँ वर्ष २०७९ आएको हो । आफ्नो १ वर्षे कार्यकाल पूरा गरी विदाई हुन लागेको वि.स. २०७८ ले नव वर्ष २०७९ लाई १ वर्षे कार्यकालको वार्षिक प्रगति विवरण सुम्पिएको छ । कतै बिर्सन र कतै सम्झना लायक समयको झोला बोकेर यो वर्ष बिदा भएको छ । चिनको बुहानबाट फैलिएको कोभिड १९ महामारीले धेरैको ज्यान गयो भने कयौं संक्रमित
भए । त्यति मात्र होइन नेपालको अर्थतन्त्रलाई नै नराम्रोसँग प्रभावित बनायो । विश्व अर्थतन्त्रमा आएको संकटले नेपालको पर्यटन, उद्योग, व्यापार र सानातिना रोजगारीका केन्द्रहरू पनि सांघुरिएका छन् । कोभिड–१९ को प्रभाव अझै पनि हाम्रो चुलोमा स्पष्ट देखिने गरी जिउँदै छ । समष्टिगत अर्थतन्त्रका सूचक हेरेर परिवारको भान्सा–भान्सामा प्रवेश गरेको संकटको वास्तविक चित्र केलाउन हाम्रो जस्तो कमजोर अर्थतन्त्र भएको देशमा असम्भवप्रायः छ, । कोरोनाको निर्ममताको यो हृदय विदारक अवस्थाबाट हामीले ठूलो पाठक सिकेका छौं ।
नेपालमा सञ्चार क्षेत्रले पनि कोरोनाको ठूलो सामाना गर्न प¥यो । कतिपय सञ्चार माध्यम बन्द भए भने कतिपयले संकटको सामना गरिरहनु परेको छ । यही वर्ष बहुमत प्राप्त सरकार ढलेर गठबन्धनको सरकार बनेको छ । जसले बैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मिति समेत तय गरेर तयारी थालेको छ । २०७८ कतै विर्सन त कतै सम्झना लायक वर्षको रुपमा रह्यो । आशा गरौँ, आगामी वर्ष मानव समुदायले कोरोनाको कहर बेहोर्न नपरोस् । आगामी वर्ष हामीलगायत समग्र विश्वका निमित्त सुख र सन्तोषको वर्ष बनोस् । हामी सबैमा दायित्वबोध र देशप्रति अगाध प्रेम बढोस् । हामी सबै स्वदेशमैं आत्मनिर्भर बनौं । कर्मशील बनौं । सबै देशवासी र छिमेकी मित्र देशलगायत विश्वका सम्पूर्ण मित्र देशहरूप्रति प्रेम र सद्भाव बढाऔं । आफ्नो देशको राष्ट्रियतालाई सम्मान र संरक्षण गरौं । नव वर्ष २०७९ को शुभ अवसरमा स्वदेश तथा विश्वमा रहनुभएका सम्पूर्णमा हार्दिक शुभकामना !

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update