Shittalpati
माथागढीले बनायो आवधिक र दीर्घकालीन योजना

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले आवधिक र दीर्घकालीन योजना बनाएको छ । गाउँपालिकाले पञ्चवर्षे आवधिक र दश वर्षे दीर्घकालीन योजना बनाएको हो । गाउँपालिकाले २०७९/२०८०–२०८३/२०८४ सम्मका लागि आवधिक योजना र २०७८/२०७९– २०८८/८९ सम्मका लागि दीर्घकालीन योजना निर्माण गरेको छ ।

यस अघि पहिलो आविधक योजना निर्माण गरेर काम गरेको पालिकाले पाँच वर्षको अन्त्यमा दोस्रो आवधिक योजना निर्माण गरेको छ । दीर्घकालीन योजना भने पालिकाको पहिलो हो । गाउँपालिकाले उक्त योजनाहरु एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ । योजना सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर आवधिक र दीर्घकालीन योजना निर्माण गरिएको बताए । गाउँपालिका ५ वर्षमा कहाँ छ र पाँच वर्षपछि कहाँ पुग्छ भन्ने कुरालाई आवधिक योजनामा समेटिएको उनले जानकारी गराए । अध्यक्ष थापाले भने ‘दीर्घकालीन योजना १० वर्षको बनाएका छौं, जहाँ संघीय र प्रदेश सरकारले निर्माण गरेका आवधिक र दीर्घकालीन योजना,दिगो विकासका १७ वटा लक्ष्यहरुलाई स्थानीय आवश्यकसँग तादम्यता मिलाएर दीर्घकालीन योजना बनाएका हौं । ’

स्थानीय सरकारले गर्ने कामले जनताको दैनिक जीवनमा प्रत्यक्ष सरोकार राख्ने भएकाले यहाँका विकास तथा योजना परियोजनमा जनताको चासो र निगरानी रहने भएकाले योजनाको महत्वपूर्ण भूमिका रहने अध्यक्ष थापाले बताए । उनले भने ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहको सम्भावनालाई समृृद्धिमा रूपान्तरण गर्न आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा आवधिक, वार्षिक, रणनीतिगत, विषयगत, क्षेत्रगत, मध्यकालीन र दीर्घकालीन विकासका योजना बनाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । यसको मनसाय स्थानीय योजनाहरू आवश्यकतामा आधारित हुन, त्यसमा जनताको सहभागिता रहोस्, योजना बैङ्कको अवधारणाले मूर्त रूप लेओस् र आकस्मिक तथा अवाञ्छित तरिकाले योजनामा स्रोत परिचालन नगरियोस् भन्ने हो ।’ स्थानीय योजना बनाउँदा विभिन्न चरण पार गर्नुपर्ने भएकाले यसले जनताको आवश्यकतामा आधारित तथा ‘तलबाट माथि’ योजना अवधारणाको पक्षपोषण गर्ने अध्यक्ष थापाले बताए । गाउँपालिकाले सोही अवसरमा विकास स्थिति पत्र समेत सार्वजनिक गरेको छ । उसले पाँच वर्ष भित्र पालिकाले गरेका गतिविधि, सम्पन्न योजन समेटेर विकासको स्थिति पत्र सार्वजनिक गरिएको पालिका उपाध्यक्ष निर्मला भट्टराईले बताईन् । यस्तै पालिकाले मगरी मातृभाषामा पाठ्यपुस्तक समेत निर्माण गरेको छ । जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गरेको पालिकाले अहिले मगरी मातृभाषाको पाठ्यपुस्तक बनाएको हो । कक्षा १ र २ का लागि पाठ्पुस्तक निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश ज्ञवालीले बताए । गाउँपालिका भित्रका तीन विद्यालयमा मातृभाषा मगर ढुटमा अध्ययन– अध्यापन हुने गरेको गाउँपालिकाका शैक्षिक कार्यक्रम संयोजक अशेष भट्टराईले बताए । उनका अनुसार नवजागृत, जाउपोखरा र धारादेवीमा मगर भाषामा अध्ययन हुने गर्दछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update