Shittalpati
कोरोनाका कारण पाल्पा दरबार संग्रहालय बन्द

रामचन्द्र रायमाझी

पाल्पा, जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको मुख्य केन्द्र बन्दै आएको पाल्पा दरबार संग्राहलय बन्द गरिएको छ । कोरोना संक्रमणका लागि पूर्वसर्तकता अपनाउनका लागि भन्दै संघीय सरकारले भिडभाड हुने क्षेत्रहरु संग्रहालय तथा ऐतिहासिक धरोहरहरु बन्द गर्न निर्देशन जारी गरे अनुरुप पाल्पा दरबार संग्रहालय बन्द गरिएको हो । दरबार संग्रहालयले विहिबार एक सूचना जारी गर्दै विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिदै गएको नोवेला कोरोना भाइरसबाट नेपालमा हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्नका लागि नेपाल सरकारको निर्णय अनुसार संग्रहालय बढी भिडभाड हुने जोखिमयुक्त स्थल रहेकाले अर्को सूचना जारी नहुँदा सम्मका लागि संग्रहालय बन्द गरिएको जनाएको छ ।

संग्राहलय अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहहरुका लागि संग्रहालय बन्द गरिएको र कार्यालयका नियमित काम भने यथावत् रहने कार्यालयका लेखापाल चन्द्रबहादुर ओलीले जानकारी दिए । संग्रहालय अवलोकनका लागि दैनिक सयौंको संख्यामा पर्यटक तानसेन आउने गर्दछन् । दरबार पुरानै मोडलमा पुर्ननिर्माण भएपछि दरबार अवलोकन गर्न आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको कार्यालयले जनाएको छ । राणाकालीन समयमा निर्माण भएको दरबार २०६२ माघ १८ माओवादी आक्रमणबाट ध्वस्त भएको थियो । २०७२ सालमा दरवार पुरानै स्वरूपमा पुर्ननिर्माण गरिएको हो । संग्राहलयमा ६४ कोठा र दुई बुर्जा रहेका छन् । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको दरबार अहिले पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । दरबार संग्रहालय प्रवेशको लागि फरक फरक शुल्क तोकिएको छ । विद्यार्थीले पाँच रुपैयाँ तिर्नुपर्ने छ भने सर्वसाधारणका लागि १० रुपैयाँ तोकिएको छ । सार्क मुलुकका व्यक्तिका लागि ५० रुपैयाँ र विदेशी नागरिकले एकसय रुपैयाँको टिकट लिनुपर्ने व्यवस्था गरिएको छ । संग्रहालयभित्र फोटो खिच्ने स्वदेशी नागरिकका लागि २५ रुपैयाँ, सार्क मुलकका नागरिकका लागि ५० रुपैयाँ र विदेशी नागरिकका लागि ७५ रुपैयाँ शुल्क तोकिएको छ । यस अघि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत रहेको संग्राहलय केही समयदेखि प्रदेश पाँच सरकारको मातहतमा आएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update