Shittalpati
तानसेनमा राजनीतिक भन्दा विकासको सोंच भएको नेतृत्व आवश्यक : अध्यक्ष महर्जन
एनजेडीको कार्यालयमा तानसेनको विकास र पाल्पा उद्योग वाणिज्य संघको गतिविधिका विषयमा कुराकानी गर्दै संघका अध्यक्ष राजु महर्जन र एनजेडीका उपसम्पादक रामचन्द्र रायमाझी ।

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले तानसेनको विकासका लागि राजनीतिक सोंच भन्दा पनि विकासको सोंच भएको नेतृत्व आवश्यक रहेको बताएका छन् । उनले सबै भन्दा पुरानो नगरपालिकाको रुपमा रहेको तानसेन नगरपालिकामा राजनीतिक सोंच बोकेको नेतृत्वको हालीमुहाली हुन पुग्दा विकासमा पछाडी परेको बताए । शित्तलपाटीसँगको कुराकानीमा अध्यक्ष महर्जनले यस्तो बताएका हुन् । उनले जबसम्म विकासको सोंच भएका व्यक्तिहरुलाई स्थानीय सरकारको नेतृत्व गर्न दिइदैन तबसम्म तानसेनको विकास हुन नसक्ने बताए ।

अध्यक्ष महर्जनले भने ‘ बाटो खन्दैमा विकास हुँदैन, विकास गर्नका लागि त स्थानीय स्तरमा भएका सम्भावनाका स्रोतहरुको विकास गर्नुपर्छ कुन ठाउँमा के को सम्भावना छ, त्यही कुराको विकासमा जोड् दिनुपर्छ ।’ ‘तानसेन पर्यटकीय सम्भावना बोकेको शहर हो, यहाँ रहेका पर्यटकीय सम्भावनाको खोजी गरी त्यसको विकासमा स्थानीय सरकारले ध्यान दिनुपर्छ तर तानसेनमा त्यसो हुन सकेको छैन ’उनले भने । ऐतिहासिक पाल्पा दरबार, श्रीनगर, रानीमहल, माडीफाँट, जस्ता सयौ पर्यटकीय क्षेत्रहरू व्यवस्थित गर्न सके मात्र पनि तानसेनमा दैनिक हजारौं पर्यटक भित्र्याउन सकिने अध्यक्ष महर्जनले बताए । यहाँका थुप्रै पर्यटकीय स्थलहरु रहे पनि व्यवस्थापन र प्रचार –प्रसार हुन नसक्दा तानसेनको विकास हुन नसकेको उनको भनाई छ । ‘तानसेनमा थुप्रै लगानीकर्ता छन्, तर यहाँ आउने पर्यटकहरूलाई लामो समयसम्म अड्याई राख्न सकेका छैनौ । जसका कारण यहाँको व्यापार समेत खस्कदो छ,पर्यटकहरु अड्याउनका लागि सोही अनुसारको पूर्वाधार निर्माण हुनुपर्छ तर यहाँ त्यसो हुन सकेको छैन’ अध्यक्ष महर्जनले भने । उनले व्यापार फष्टाउन सके मात्र तानसेनको विकास हुने बताए । उद्योग वाणिज्य संघ जस्तो नीजि क्षेत्रले किन विकासमा ध्यान नदिएको भन्ने एनजेडीको जिज्ञासामा अध्यक्ष महर्जन भन्छन् ‘ विकास भन्ने कुरा नीजि क्षेत्र एक्लैले सम्भव छैन । त्यसका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने हो, स्थानीय सरकारले हामी जस्ता संघ संस्थासँग सहकार्य गरी काम गरेको छैन् । स्थानीय सरकारले नीजि क्षेत्रसँग मात्रै सहकार्य गरेर अगाडि बढे तानसेनमा छिट्टै परिवर्तनको लहर ल्याउन सकिन्छ ।’ पाल्पालाई पर्यटनमैत्री बनाउन धेरै योजनाहरू छन् तर तानसेनको नेतृत्वको सोंच परिवर्तन हुनु आवश्यक रहेको उनले बताए ।

भाषणमा मात्र सीमित रहने काममा ध्यान नदिने नेताले नै पटक –पटक नेतृत्व गर्ने हो भने तानसेन सधै विकासमा पछि पर्ने र व्यवसायीहरु समेत पलायन हुने अवस्था आउन सक्ने अध्यक्ष महर्जनले बताए । ‘हामी बैंकबाट चर्काे व्याजमा ऋण लिएर यहाँको विकासका लागि निजी क्षेत्रको नेतृत्व गर्दै अगाडि बढेका छौं, अवसर प्राप्त भए तानसेनको विकास गरी नमूना शहर बनाउन सक्छौं भन्ने विश्वासमा छु,’ उनले भने । विगतमा शिक्षा र स्वास्थ्य क्षेत्रको रुपमा समेत अब्बल तानसेन अहिले ओरालो लागेको अध्यक्ष महर्जनले बताए । उनले विगतको इतिहास हेर्दा तानसेन नेपालकै दोस्रो स्थानमा रहेको र हाल ओरालो लागेको अवस्थामा रहेको उल्लेख गरे । ‘अहिले तानसेनका लगानीकर्ता बाहिरिएका छन् । शिक्षा, स्वास्थ्यमा तानसेन पछाडी पर्दै गयो । सकारात्मक प्रचारभन्दा नकारात्मक प्रचार बढी भएको छ ’ महर्जनले भने । उनले सिद्धबाबाको बाटोको कारण तानसेनको व्यापारमा ठूलो असर पुगेको भन्दै यसतर्फ संघीय र स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । पाल्पा उद्योग वाणिज्य संघले स्थानीय व्यक्तिहरूलाई स्थानीय स्तरमै लगानी गर्न अनुरोध समेत गर्दै आएको उनले बताए । अध्यक्ष महर्जनले दुई कार्याकाल संघको नेतृत्व गर्दै आएका छन् । पहिलो कार्यकाल २०७० देखि २०७३ सम्म अध्यक्ष भएर काम गरेका उनी २०७६ मा पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । उनी भाषण भन्दा पनि काममा बढी विश्वास गर्ने व्यक्ति हुन् । उनी आफ्नो नेतृत्वमा उद्योगी, व्यापारीहरुको समस्या समाधान र संघको प्रशासाकिय भवन निर्माणमा सक्रिय बन्दै आएका छन् ।

राष्ट्रपती विद्यादेवी भण्डारीबाट प्रवल जनसेवा श्री पदकबाट सम्मानित समेत भएका महर्जनले संघको संस्थागत विकासँगै टुँडिखेलको स्तरोन्नती, संघको बहुउद्देश्यीय भवन निर्माण सुरु, टुँडिखेलमा रहेको विरेन्द्र पार्क व्यवस्थापन, बसपार्कमा प्रतिक्षालय, व्यवसायिक हित कोष, तत्कालिन भारतीय राजदूत रे, अमेरिकन राजदूत मार्फत जिल्लाको पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्ने काम समेत गरेका छन् ।

तस्वीर : शित्तलपाटीको कार्यालयमा तानसेनको विकास र पाल्पा उद्योग वाणिज्य संघको गतिविधिका विषयमा कुराकानी गर्दै संघका अध्यक्ष राजु महर्जन र शित्तलपाटीका उपसम्पादक रामचन्द्र रायमाझी ।

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update