Shittalpati
बगनासकाली गाउँ सरकारको चार तले प्रशासकीय भवन शिलान्यास

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले सुविधा सम्पन्न चार तले प्रशासकिय भवन बनाउन थालेको छ । गाउँपालिकाले कुल ८ करोड ३८ लाख ३० हजार ६ सय ८९ रुपैयाँ लागतमा निर्माण हुने प्रशासकीय भवन बनाउन सुरु गरेको हो । भवनको शुक्रबार गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल र उपाध्यक्ष सरस्वती चिदी संयुक्त रुपमा एक औपचारिक कार्यक्रमका बिच शिलान्यास गरेका छन् । भवनको शिलान्यास गर्दै अध्यक्ष बस्यालले सांघुरो भवनबाट सेवा प्रवाह गर्दा समस्या भइरहेकाले अब छिट्टै नै भवन निर्माणको काम सकेर नयाँ भवनबाट सेवा प्रवाह गरिने बताए । उनले कार्यालय व्यवस्थित नभएसम्म कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउँदै कार्यालयको भवन निर्माण भएपछि सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने बताए ।

अध्यक्ष बस्यालले भने ‘नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन भवनको महत्वपूर्ण भूमिका हुन्छ ।’ स्थानीय तहको संरचनाले नागरिकलाई अभिभावक भएको महशुस गराएको उनले बताए । अध्यक्ष बस्यालले तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशनसमेत दिएका छन् । उनले निर्माण व्यवसायीलाई समयमा काम गर्न आग्रह गर्दै बजेट अभाव हुन नदिने समेत प्रतिवद्धता जनाए । अध्यक्ष बस्यालले आफ्नो कार्यकालमा सबै वडाका कार्यालय भवनहरु समेत निर्माण गर्ने बताए । पालिका भवन निर्माणका लागि जग्गा अभाव हुँदा भवन निर्माणमा ढिलाई हुन गएको उनले बताए । सबैको सहयोगमा भवन शिलान्यास गर्न सफल भएको अध्यक्ष बस्यालको भनाई छ । पहिले नै राजनीतिक सहमति अनुसार नै पालिकाको केन्द्र तोकिए पनि जग्गा नहुँदा भवन निर्माणमा समय लागेको गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले बताइन् । उनले ढिलाई गरेर भए पनि भवन निर्माणको कामलाई अगाडि बढाइएको बताइन् ।

गाउँपालिका र निर्माण कम्पनी बीच भएको सम्झौता अनुसार निर्माण व्यवसायीले एक वर्ष ६ महिनामा काम सम्पन्न गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले बताए । भैरव मन्दिर सामुदायिक बनबाट जग्गा उपलब्ध गराएपछि भवन निर्माणको काम अगाडि बढेको उनले बताए । भवन शिलान्यास गरिएको स्थान नेपाल सरकारको नाममा रहेको सार्वजनिक जग्गा भएपनि भैरव मन्दिर सामुदायिक बनले उपभोग गर्दै आएको थियो  । उक्त जग्गा नेपाल सरकार मन्त्रीपरिषद्को २०७७ चैत ३० गतेको निर्णय बमोजिम मालपोत कार्यालय पाल्पाबाट २०७८ साउन ४ गते गाउँपालिकालाई प्राप्त भएको हो । यो जग्गा पालिकाले २५ वर्षको लागि लिजमा लिएको छ । न्यू ड्राईगन आर एण्ड आर जेभिले तानसेन पाल्पाले उक्त भवनको ठेक्का लिएको छ । उसले ६ करोड ४७ लाख ८४ हजार ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत बजेटमा भवन निर्माण हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update