Shittalpati
गुल्मीदरबारमा स्वास्थ्य चौकी र लिफ्ट खानेपानीको उद्घाटन

रमेश विश्वकर्मा
गुल्मी, संविधान सभा सदस्य एवम् नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारीले गुल्मीदरबार गाउँपालिका वडा नं. ५ अमरअर्वाथोक स्वास्थ्य चौकीको नवनिर्मित भवन र बढ्वा खोला लिफ्ट खानेपानीको उद्घाटन गरेका छन् । २०७७ पौष ६ गते निर्माण सुरु भएको स्वास्थ्य चौकी २०७८ फागुन १५ गते निर्माण कार्य सम्पन्न भएको अमरअर्वाथोक स्वास्थ्य चौकी र आ.व.२०७५/०७६ मा निर्माण सुरु भएको बढ्वा खोला लिफ्ट खानेपानीको एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

स्वास्थ्य चौकीको नवनिर्मित भवन र लिफ्ट खानेपानीको उद्घाटन गर्दै नेता भण्डारीले आफुहरुले बनाएको संविधानलाई विकाससंग जोड्न चाहेको बताए । हामीले बनाएको संविधान जनतासंग जोड्न चाहान्छौं । शिक्षा, स्वास्थ्य र विकाससंग जोड्न चाहान्छौं ।’ पूर्व सांसद समेत रहेका डा.भण्डारीले भने, ‘नेपालमै सबैभन्दा धेरै लिफ्ट खानेपानी आयोजना गुल्मीमा हामीले ल्याएका हौं ।’ आफु संविधान सभा सदस्यमा निर्वाचित हुँदा दौंगामा २० करोडको खानेपानी आयोजना शुरु गरेको बताउँदै नेता भण्डारीले तम्घास नेटामा १५ करोडको खानेपानी आयोजना सम्पन्न गरेको उल्लेख गरे । नेता भण्डारीले भने–‘काकाकुलले पानी खान नपाउने ठाउँमा हामीले जनतालाई पानी खुवायौं । तर भोट दिने बेलामा पानी नखुवाउने मान्छेलाई दिन्छौं । यो नेपालकै बिडम्बना हो ।’

नेता भण्डारीले सिद्धबाबाको बाटोले गुल्मीका हजारौं मान्छेहरु मारिएको बताउँदै त्यसको विकल्पमा सुगम सडक बनाउनका लागि सालझण्डी सडक बनाएको बताउँदै खज्र्याङ देखि ४१ करोडको ठेक्का समेत भएको उल्लेख गरे । यस्ता थुप्रै सडकहरु आफ्नो पहलमा सञ्चालन गरेको बताउँदै उनले भने,– ‘अहिले रिडिमा दक्षिण एसियाकै तीनमुखे नुमना पुल बनायौं । त्यहाँ अहिले दैनिक सेल्फी खिंच्न, टिकटक बनाउँन जान्छन् । कस्ले बनायो भनेर सोध्दैनन् । अनि बनाउने मान्छेलाई भोट हाल्न हाम्रा हातले अल्छि गर्छन् ।’

नेता भण्डारीले समयमै काम सम्पन्न नहुँदा प्रश्न समेत नगर्ने गरेको बताए । आफ्नै पहलमा जिल्लामा थुप्रै पुलहरु बनेको समेत दाबी गरे । उनले स्वास्थ्य क्षेत्रमा मात्रै नभएर शिक्षा र रोजगारमा पनि सबैको विशेष ध्यान जानु पर्ने बताए । कार्यक्रममा गुल्मीदरबार गाउँपालिका कार्यवाहक अध्यक्ष मीना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, निर्माण व्यवसायी, वडाका जनप्रतिनिधिहरु लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update