Shittalpati
भारत भ्रमणको अपेक्षा

तीन दिने औपचारिक भ्रमणका निम्ति प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा शुक्रबार भारत गएका हुन् । प्रधानमन्त्री देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्चपदस्थ राजनीतिक व्यक्तित्वहरुसँग द्विपक्षीय वार्ता गर्नमै व्यस्त छन् । देउवाको भारत भ्रमणलाई लिएर यतिखेर चौतर्फी चासो र कौतुहलता समेत व्यक्त गरिएको छ । यसले उनको भ्रमणबाट गरिएको अपेक्षालाई समेत संकेत गरेको छ । जहाँ विभिन्न मुद्दा र विषयहरु सम्बोधित हुने छन् । एक देशको राष्ट्रप्रमुख अर्को देशमा जानु आफैँमा विशेष महत्वको विषय हो । शताब्दीऔँदेखि असाध्यै नजिकको सम्बन्ध रहेका दुई छिमेकी देशहरुको मित्रताले निकै ठूलो अर्थ पनि राख्छ । यद्यपि, ठूलो र शक्तिशाली देश भारतले सानो र कमजोर देश नेपालको आन्तरिक मामलामा भने हस्तक्षेप गर्ने सिलसिला आजसम्म कम गरेको छैन । त्यसैले पनि देउवाको भारत भ्रमणबाट सकारात्मक परिणामहरुको अपेक्षा गर्नु वर्तमान सन्दर्भमा अन्यथा पनि छैन ।

रोटी–बेटीको सम्बन्धमा रहेका यी दुई मुलुकबीच पछिल्लो समय आर्थिक सम्बन्धले सर्वाधिक प्रभाव जमाएको छ । नेपाल र भारतबीच लामो समयदेखि सीमा बिवाद रहँदैआएको छ । नेपाली भूभाग भारततर्फ परेको भन्दै नेपाल पक्षले लामो समयदेखि आवाज उठाएको भएपनि त्यसको सम्बोधन हुनसकेको देखिदैन । सबै नेपाली जनतालाई बिझाएको कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताका मुद्दाहरु प्रधानमन्त्री देउवाले उठाउन र त्यसको समाधानतर्फ डो¥याउन सके भ्रमणको मुख्य उपलब्धि हुनेछ । यो मामिलामा प्रधानमन्त्री देउवाले आफ्नो अडान प्रष्ट राख्न सक्नुपर्छ । लामो समयदेखि विवादमा रहँदै आएको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारत नेपालसँग असन्तुष्ट छ । यद्यपि नेपाल चाहिं असन्तुष्ट हुनुपर्ने हो, तर उसको असन्तुष्टि बढी देखिनु आफैमा विडम्बना छ । यसर्थ यि कुराहरुलाई प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा आफ्नो समकक्षीको ध्यानाकर्षण गराउन जरुरी देखिन्छ । यस्तो अपेक्षा आम नागरिकले प्रधानमन्त्रीको भ्रमणमा गरेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update