Shittalpati
स्थानीय तह निर्वाचनका लागि पाल्पामा १४ दल दर्ता

पाल्पा, पाल्पामा स्थानीय तहको निर्वाचनका लागि १४ वटा दल दर्ता भएका छन् । जिल्लामा क्रियाशील मुख्य पाँच दलसहित १४ दल दर्ता भएका हुन् । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा माले, उन्नत लोकतान्त्रिक पार्टी, मंगोल नेश्नल अर्गनाइजेशन पार्टी, नेपाली काँग्रेस (विपी) र सामाजिक एकता पार्टी निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।

२०७४ सालको निर्वाचनमा पाल्पामा नौँ वटा दल मात्रै दर्ता भएका थिए । अहिले दर्ता हुने दलको संख्या बढेर १४ पुगेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विवेकशील साझा पार्टी भने दर्ता भएका छैनन् । निर्वाचन आयोगले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन अधिकृत, मतदानस्थल र केन्द्रको समेत टुङ्गो लगाएको छ । आयोगले पाल्पाको मुख्य निर्वाचन अधिकृतमा पाल्पा जिल्ला अदालतका न्यायाधीश खड्कबहादुर केसीलाई तोकेको छ । केसी तानसेन नगरपालिकामा खटिने छन् । त्यस्तै आयोगले तिनाउ गाउँपालिकामा जनार्दन अधिकारी, निस्दी गाउँपालिकामा दुर्गाप्रसाद बस्याल, पूर्वखोला गाउँपालिकामा मधु अर्याल (खनाल), बगनासकाली गाउँपालिकमा रवि न्यौपाने, माथागढी गाउँपालिकामा मिना अर्याल, रामपुर नगरपालिकामा श्यामप्रसाद श्रेष्ठ, रम्भा गाउँपालिकामा कृष्णप्रसाद भण्डारी, रिब्दीकोट गाउँपालिकमा टिकाराम अर्याल र रैनादेवी छहरा गाउँपालिकामा टोलराज उपाध्यायलाई निर्वाचन अधिकृतमा चयन गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याड्ढ अनुसार पाल्पामा १ लाख ९९ हजार ६ सय ९० मतदाता कायम भएको छ । जसमा ९६ हजार ९ सय ८० पुरुष र १ लाख ३ हजार १० जना महिला मतदाता रहेका छन् । जिल्लाका पालिकाहरु मध्ये सबै भन्दा धेरै मतदाता तानसेन नगरपालिकामा र सबैभन्दा थोरै पूर्वखोला गाउँपालिकामा रहेका छन् । पाल्पामा १ सय १८ मतदान स्थल र २ सय ४७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update