Shittalpati
रिब्दीकोट गाउँ सरकारको आफ्नै भवन निर्माण

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण भएको छ । १ करोड ८७ लाख लागतमा सभाहल सहितको भवन निर्माण भएको हो । साँघुरो भवनबाट सेवाप्रवाह हुँदै आएको कार्यालयको अहिले आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको छ । साढे दुई तला रहेको भवनमा दुई सभाहल सहित १५ वटा कोठा रहेका छन् । नवर्निमित भवनको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै अध्यक्ष जिसीले सेवा प्रवाहमा भवन निर्माणले महत्वपूर्ण टेवा पुग्ने बताए । उनले कार्यालय व्यवस्थित नभएसम्म गाउँपालिकाको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउँदै नवनिर्मित भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गरे । आफुहरु निर्वाचित भएपछि गाउँपालिकाले विकासमा फड्को मारेको अध्यक्ष जिसीले बताए । उनले गाउँपालिकामा जनतालाई छिटो र छरितो सेवा दिनमा आफ्नो नेतृत्वले कुनै कसुर बाँकी नराखेको धारणा व्यक्त गरे । गाउँपालिकाले जेष्ठ नागरिक, एकल महिला, युवा बालबालिकाका क्षेत्रमा, शिक्षा, स्वास्थ्य, यातायात, विद्युत खानेपानी, सञ्चार, कृषि लगायतका क्षेत्रमा जनताले अनुभुती गर्ने गरी कार्य गरेको अध्यक्ष जिसीले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले गाउँपालिकाको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रशासकीय भवन निर्माण गरिएको बताइन् । उपाध्यक्ष खनालले आफु पदमा रहँदा वा नरहदा सधैं नागरिकको साथमा रहने बताइन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले नवनिर्मित भवनबाट पालिकाबाट प्रदान गरिने सेवा प्रवाहमा सहजता हुनेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update