Shittalpati
निर्वाचनको चटारो

स्थानीय निर्वाचन २०७९ को निर्धारित तिथि नजिकिदै जाँदा राजनैतिक सरगर्मी र प्रचार–प्रसारको चटारो बढ्दै गएको छ । निर्वाचन आयोगले म्यादी प्रहरी भर्ना र मतदाता शिक्षाका कार्यक्रमहरु तिव्र गतिमा अगाडि बढाइरहेका बेला राजनैतिक दलहरुले गठवन्धन र एकल को–कसरी निर्वाचनमा जाने भन्ने विषयमा गम्भीर छलफल र परामर्शलाई तिव्रता दिएका छन् । नेपालमा आसन्न तीन वटै तहका निर्वाचनका लागि यहाँका दलहरु तम्तयार देखिन्छन् । अनि आयोग आफैमा गम्भीर भएर लागिरहेको अवस्था छ । निस्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारीहरु भइरहेका बेला मतदातामा भने उत्साह र उमङ्ग देखिएको छैन । ग्रामीण क्षेत्रमा कहि कतै निर्वाचनलाई लिएर चर्चा र परिचर्चाले व्यापकता पाएपनि शहरहरु अझै पनि तातेका देखिदैनन् । मतदाताहरु राजनैतिक दलका विभिन्न खालका प्रचारात्मक र आफुतर्फ आर्कषित गर्ने खालका वहसमा जुन रुपमा लाग्नुपर्ने हो त्यो किसिमबाट लाग्न नसकेका हुन् कि भन्ने पनि आभास भइरहेको देखिन्छ । मुख्य राजनैतिक दलहरुले केन्द्रदेखि स्थानीय तहसम्मका आफ्ना घोषणापत्र तयार गर्ने कार्यलाई प्राथमिकताका साथ सुरु गर्ने तयारी गरेका छन् ।

आम सर्वसाधारणहरु भने राजनीतिबाट अलग्गै भए जस्तो गरी पर्ख र हेरको सिद्धान्त अनुरुप टसमस नभएको आभाष हुन्छ । नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, जनमोर्चा, राप्रपा जस्ता ठूला दलहरुले मतदाताको घरमा गएर आश्वासन दिदैं गर्दा मतदाता शिक्षा र निर्वाचनलाई कसरी मितव्यायी बनाउने भन्ने तर्फ उनीहरुको चिन्ता कम भएको होकि भन्ने पनि चर्चा अहिले व्यापक रुपमा भएका छन् । जे होस्, निर्वाचन भड्किलो र मतदाता विकाउ हुनुहँुदैन, समाज रुपान्तरण गर्ने खालको नेतालाई जनप्रतिनिधि बनाउने हो भने आफ्नो मतको क्षणिक मूल्य भन्दा विकासका नारा र नेताको इच्छा शक्तिका हरेक मापनलाई तौलेर मतदान गर्ने हो भने मात्र मुलुकको विकास हुन्छ र जनताले जनप्रतिनिधि पाउँछन् । अन्यथा विगतका कमी कमजारी सच्याईएन भने भोलि हामी आफैले पछुताउँनुको विकल्प छैन । निर्वाचनको चटारोसँगै यसलाई सभ्य र भव्य बनाउने तर्फ यहाँका सबैं सरोकारवालाहरुको सोंचमा एकरुपता मिलाएर मात्र अगाडि बढ्नुको कुनै पनि विकल्प छैन ।

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update