Shittalpati
पाल्पामा बढ्दै चुनावी दौडधुप

रामचन्द्र रायमाझी
पाल्पा, आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा माहोल बनाउन जिल्लाका राजनीतिक दलहरु सक्रिय भएका छन् । विभिन्न दलका नेताहरू आ–आफ्नो पार्टीको पक्षमा जनमत बलियो बनाउन दौडधुप गरिरहेका हुन् । सत्ता गठबन्धनका दलहरू, नेकपा एमाले र अन्य दल आफ्नै किसिमले चुनावी अभियानमा लागेका छन् । एमालेले सत्ता गठबन्धनलाई समेत चुनौती दिँदै आएको छ । स्थानीय तहको चुनावी माहोल बनाउन एमालेका शीर्ष नेताहरू देशव्यापी रूपमा हिँडिरहेका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलका नेताहरू गाउँ–गाउँमा पसिसकेका छन् । दलका भेला, सभा, प्रशिक्षण बाक्लो हुँदैछन् । सबै दललाई आ–आफ्ना पार्टी बलियो र शक्तिशाली बनाउनुछ । जनतालाई भ्रम छर्दै आफ्नो पार्टीमा आकर्षित गर्न नेताहरू कम्मर कसेर लागेका छन् । एकले अर्कोलाई कटु आरोप, तीखो प्रहारमा व्यस्त छन् उनीहरू । पाल्पामा निर्वाचन लक्षित कार्यक्रमहरू दिनदिनैजसो भइरहेका छन् । गाउँ–गाउँसम्म उच्चस्तरीय नेताहरू आफैँ पुगेर वा आफ्ना दलका अन्य नेता कार्यकर्ताहरूलाई खटाएर मतदाता आकर्षित गर्ने काम गरिरहेका छन् । राजनीतिक दलको यो अभियानसँगै निर्वाचनको सरगर्मी बढेको छ । आगामी निर्वाचनमा वडादेखि पालिकासम्मको नेतृत्वमा पुग्न आकाक्षीहरुले आ–आफ्नो दलभित्र समेत आफ्नो दाबेदारी राख्न थालिसकेका छन् । संघीयताको पहिलो कार्यकाल अलमलमै बिते पनि आगामी निर्वाचनमा आफ्नो दललाई विजयी गराउन अनुरोध गर्दै जनप्रतिनिधिसहित दलका नेता तथा कार्यकर्ताहरु गाउँघरमा भोट माग्न थालिसकेका छन् । पाल्पामा दुई नगरपालिका र आठ गाउँपालिका मध्ये चार वटा स्थानीय तहमा काँग्रेस र छ वटामा एमालेले नेतृत्व गरेका छन् ।

काँग्रेसले विगतमा स्थानीय तह निर्वाचनमा गुमेको साख फर्काउने योजनामा छ । एमालेले आफ्नो साख जोगाउँदै पहिलो शक्तिका रुपमा स्थापित हुने प्रयत्नमा देखिन्छ भने नेकपा (माओवादी केन्द्र)ले एमाले र काँग्रेसकै हाराहारीमा नतिजा ल्याउने योजनामा अघि बढेको देखिन्छ । जनताको नजिकको सरकारका रुपमा रहेको स्थानीय तहको नेतृत्वका लागि जिल्लास्थित राजनीतिक दलका पदाधिकारी र नेताहरुसमेत इच्छुक देखिएका छन् । नेपाली काँग्रेसले फागुन ७ गतेदखि नै चुनावी अभियानलाई निरन्तरता दिइएको छ । उसले ‘घर–घर जाऔं, नेपाली काँग्रेसलाई जिताऔं’ नारा सहितको अभियान जिल्लाका १० वटा पालिका र ८१ वटै वडामा सकेर पूर्ण चुनावी अभियानमा लागेको काँग्रेस जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले बताए । उनका अनुसार प्रतिनिधिहरु मार्फत टोल समिति गठन, भ्रातृसंस्थाहरुको पुनर्गठन, र संगठन विस्तार तथा प्रशिक्षणका कार्यक्रमहरु सकिएको हो । काँग्रेसमा सम्भावित उम्मेदवारहरुको टुङ्गो लगाउन र प्रतिस्पर्धीहरु बीच सर्वसम्मत रुपमा उम्मेदवार छनोट गर्नका लागि समेत आन्तरिक छलफल अघि बढेको उनले बताए । सभापति श्रेष्ठले भने ‘अब हामी चुनावी रणनीति, पार्टीको घोषणापत्र बनाउने छौं ।’ नेकपा एमालेले पनि चुनावी अभियानलाई स्थानीय तहदेखि वडास्तरमा पुर्‍याएको छ । सबै शक्ति चुनावमा केन्द्रित गरेको एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले बताए । उनले भने ‘पार्टी संगठनसँगै विभिन्न जनवर्गीय संगठनहरु चुनावी अभियानमा सक्रिय भएका छन्, भेला, बैठक, प्रशिक्षणका कार्यक्रमले थप व्यापकता पाएको छ ।’ एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले समेत आफ्नो संगठनलाई जिल्लाको सबै पालिकास्तरमा विस्तार गर्ने गरी चुनावी गतिविधिलाई तीव्रता दिएको छ । पार्टी संगठन निर्माणसँगै चुनाव लक्षित भेला तथा प्रशिक्षणका गतिविधि अघि बढाइएको नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष कमल पाण्डेले बताए । यस अघिको जनमतका आधारमा तेस्रो शक्तिका रुपमा रहेको नेकपा (माओवादी केन्द्र)ले यस पटकको स्थानीय तह निर्वाचनमा अन्य दुई दलकै प्रतिस्पर्धामा आफ्नो संगठनको स्थान बनाउने रणनीतिका साथ चुनावी अभियानलाई अघि बढाएको छ ।

पालिका कमिटीहरुको बैठकमार्फत वडा कमिटी हुँदै टोल र सेल कमिटी गठन गर्ने र संगठनहरुको पुनर्गठन र विस्तारका कार्यक्रमलाई अघि बढाइएको माओवादी केन्द्रका जिल्ला संयोजक नेत्रप्रसाद पाण्डेले बताए । उनले भने ‘स्थानीय तहको निर्वाचनका लागि सबै पालिका र वडा कमिटीहरुलाई चुनावमा केन्द्रित हुन भनेका छाँै, सबै पालिका र वडा कमिटीहरु क्रियाशील बनेका छन्, यस पटक माओवादीको सुदृढ संगठनले जिल्लामा मजबुत नतिजा ल्याउने गरी अघि बढेका छौँ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ । सबै तहका समितिहरुलाई बैंठक, सभा, प्रशिक्षणमार्फत चुनावमा केन्द्रीत हुन आग्रह गरिएको पार्टीका जिल्ला नेता देवेन्द्र बहादुर रायमाझीले बताए । जिल्लामा एमाले, काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) राप्रपासँगै राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशन, जनमुक्ति पार्टी लगायतले समेत चुनाव लक्षित कार्यक्रम गर्न थालेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने स्थानीय तह निर्वाचनमा भाग लिनेबारे अझै स्पष्ट पारिसकेको छैन ।

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update