Shittalpati
सहायताको सही उपभयोग गरौं

साधनको सीमितता सर्वमान्य तथ्य हो भने आवश्यकताको असीमितता पनि अर्को यथार्थ हो । यी दुई तथ्यबीचमा उत्पन्न हुने लगानी बचत ज्ञान सीप र व्यवस्थापनजन्य कमी वा ग्याप पूर्ति गर्न नेपाललगायत अल्पविकसित र विकासोन्मुख मुलुकहरूमा विकसित मुलुक वा दातृ निकायबाट प्रवाह हुने स्रोत, साधन, ज्ञान, सीप र व्यवस्थापकीय औजारहरू वैदेशिक सहायता हुन् । अर्थतन्त्र र समाजमा रहने ग्याप र आवश्यकता पूर्ति गर्न वैदेशिक सहायता महत्वपूर्ण मानिन्छ । २००७ सालको अमेरिकी सहयोगलाई पहिलो वैदेशिक सहायता मान्दा नेपालले बाह्य सहायता लिन थालेको सात दशक भइसकेको छ । तर यति लामो अवधिमा प्राप्त भइरहेको वैदेशिक सहायताले यहाँ काम गरेको छैन । दाताको दबदबा र स्वार्थका सामु सहायताबाट फाइदा गौण बन्ने गरेको छ । मुलुक वैदेशिक सहायताको यस्तो दुश्चक्रमा परिसकेको छ, यसबाट मुक्ति पाउनु टाढाको कुरा भइसकेको छ । वैदेशिक सहायताबाट लाभ लिन र अन्ततः मुक्ति पाउन वैदेशिक सहायताको प्रभावकारी परिचालन र उपयोग गर्ने क्षमता नहुनु मुख्य समस्या हो । समस्या समधानमा नेपाल गम्भीर देखिदैन । जसका कारण मुलुक वैदेशिक सहायताको अपार दलदलमा फसेको छ । यसो हुनुमा राजनीतिलाई दोष दिन सजिलो छ । तर हाम्रा राजनीतिज्ञहरू दूरदर्शी, परिपक्व र प्रतिवद्ध छैनन् ।

वैदेशिक सहायता लिनै हुन्न भन्ने कुरा होइन । तर सहायताको उपयोग सही ठाउँमा सही किसिमले हुनुपर्छ । पूर्वाधार तयार गर्न, प्रविधि भिर्याउन, साधन प्रयोग गर्ने मामिलामा राष्ट्रले वैदेशिक सहयोग लिनु नै पर्छ । हाम्रोजस्तो विकासशील राष्ट्रका लागि त्यसको झन् बढी आवश्यक छ । आर्थिक सहयोगको पनि जरुरी छ । ऋण पनि खाँचो छ । नेपालको वैदेशिक ऋण पनि बढेको बढ्यै छ । त्यो त्यति डरलाग्दो कुरा होइन, जति त्यो ऋणअनुसारको उपलब्धि चाहिँ नेपालले गर्न नसकेको सत्य हो । धनी राष्ट्रहरूले पनि ऋण लिएका छन्, आफ्नो देशको हितमा प्रयोग गरेका छन् । नेपालका हकमा वैदेशिक ऋण वा सहायताको मात्रा न्यूनीकरण गर्दै आन्तरिक आय वृद्धि प्रमुख चुनौती हो । त्यो चुनौती पूरा नगरी हाम्रो विकास सम्भव छैन । सहायता वा ऋण सहायक कुरा हुन सक्छ, तर मूल आधार भनेको राष्ट्रिय आम्दानीको स्रोत नै हुनुपर्छ । राष्ट्रिय आम्दानीको स्रोत वृद्धि हुने पूर्वाधारहरूमा वैदेशिक सहायतालाई उपयोग गर्न सक्यौं भने सहयाताको अर्थ रहन्छ । तसर्थ वैदेशीक सहयाताको सही उपयोग गरौं ।

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update