Shittalpati
पाल्पा र गुल्मीमा पनि तोकिए निर्वाचन अधिकृत

पाल्पा, वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाल्पा, गुल्मी सहित देशैभरका विभिन्न स्थानमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६ सय ७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले पाल्पाका १० र गुल्मीका १२ स्थानीय तहमा पनि निर्वाचन अधिकृतहरु तोकेको छ ।

आयोगले पाल्पाको मुख्य निर्वाचन अधिकृतमा पाल्पा जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीलाई तोकेको छ । के.सी तानसेन नगरपालिकामा खटिने छन् । त्यस्तै आयोगले तिनाउ गाउँपालिकामा जनार्दन अधिकारी, निस्दी गाउँपालिकामा दुर्गा प्रसाद बस्याल, पूर्वखोला गाउँपालिकामा मधु अर्याल(खनाल), बगनासकाली गाउँपालिकमा रवि न्यौपाने, माथागढी गाउँपालिकामा मिना अर्याल, रामपुर नगरपालिकामा श्याम प्रसाद श्रेष्ठ, रम्भा गाउँपालिकामा कृष्णप्रसाद भण्डारी, रिब्दीकोट गाउँपालिकमा टिकाराम अर्याल, र रैनादेवी छहरा गाउँपालिकामा टोलराज उपाध्यायलाई निर्वाचन अधिकृतमा चयन गरेको छ ।

यस्तै आयोगले गुल्मीको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायधीस राधाकृष्ण उप्रेतीलाई तोकेको छ । उनी रेसुङ्गा नगरपालिकामा खटिने छन् । आयोगले इस्मा गाउँपालिकाको निर्वाचन अधिकृतमा लेखनाथ ज्ञवाली, कालीगण्डकी गाउँपालिकामा तुलसीराम अर्याल, गुल्मी दरबार गाउँपालिकामा भिमप्रसाद भूसाल, चन्द्रकोट गाउँपालिकामा लोकनाथ भूसाल, छत्रकोट गाउँपालिकामा राजेन्द्र बहादुर अर्याल, धुर्कोट गाउँपालिकामा मुना पोखरेल, मदाने गाउँपालिकामा कूलबहादुर जिसी, मालिका गाउँपालिकामा ज्ञानहरी घिमिरे, मुसिकोट नगरपालिकामा दया शंकर अधिकारी, रुरुक्षेत्र गाउँपालिकामा दुर्गाप्रसाद भूसाल, सत्यवती गाउँपालिकामा रुद्रलाल भूसाललाई तोकेको छ ।

निर्वाचन आयोगको सूचना अनुसार चैत २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पदमा नियुक्त गरिने छ । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो ।

स्थानीय तह निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने व्यवस्था छ । स्थानीय तह निर्वाचनका हकमा न्यायाधीश र न्याय सेवाका राजपत्राङ्कित अधिकृतलाई मात्र नियुक्ति गर्न नसकिएमा निजामती सेवाभित्रका अन्य सेवाका अधिकृतलाई समेत निर्वाचन अधिकृतमा खटाउन सकिने छ । निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी निर्वाचन अधिकृतको हुनेछ । निर्वाचन कार्यक्रमअनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी हो । आयोगले आगामी चैत मसान्तदेखि बैशाख २ गतेभित्र यी सबै निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम पनि दिने भएको छ । स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update