Shittalpati
रैनादेवी छहरा गाउँ सरकार आफ्नै भवनमा

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँ सरकारले आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ । गाउँ सरकारले ३ करोड २० लाख ६० हजार ५ सय ३६ रुपैयाँ लागतमा सभाहल सहितको अत्याधुनिक आफ्नै भवन निर्माण गरि सेवा दिन थालेको हो ।
गाउँपालिकाको सुविधा सम्पन्न नवनिर्मित प्रशासकीय भवनको शनिबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री विरबहादुर रानाले भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै मन्त्री रानाले सेवा प्रवाहमा भवन निर्माणले महत्वपूर्ण टेवा पुग्ने बताए । उनले कार्यालय व्यवस्थित नभएसम्म पालिकाको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउँदै नवनिर्मित भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गरे । स्थानीय तह निर्माणको पाँच वर्ष वितिसक्न लाग्दा समेत अझै कयौं स्थानीय सरकारहरु साँघुरो भवनबाटै सेवा प्रवाह गर्नुपरेको भन्दै मन्त्री रानाले रैनादेवी छहराले समयमै भवन निर्माण गरेर सेवा प्रवाहमा सहज ल्याएको बताए । नेकपा समाजवादीका नेता तथा पूर्व सांसद यादबहादुर रायमाझीले गाउँपालिकाले भवन निर्माण गरेर उल्लेखीय प्रगति गरेको बताए । उनले स्थानीय सरकारको पहिलो दायित्व सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाई राख्नु रहेको भन्दै भवन निर्माणले सेवा प्रवाहमा महत्वपूर्ण टेवा पुग्नेमा विश्वास व्यक्त गरे । लुम्बिनी प्रदेशका सांसद् तुलाराम घर्ती मगरले पाल्पाको पश्चिम भेगमा रहेर पालिकाले उल्लेखनीय विकास गरेको भन्दै प्रशंसा गरे । उनले स्थानीय प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको औल्याए । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख मिरा मरासीनीले कोभिड महामारीका बिच पनि पालिकाले भवन निर्माण गरेर महत्वपूर्ण कार्य गरेको बताईन् । उनले पालिकाका जनप्रतिनिधिहरुको सक्रियताका कारण मात्र भवन निर्माण सम्भव भएको भन्दै जनप्रतिनिधिलाई धन्यवाद दिईन् ।

गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले आफुहरु निर्वाचित भएपछी गाउँपालिकाले विकासमा फड्को मारेको बताए । उनले गाउँपालिकाले कृषि, स्वास्थ्य र भौतिक पूर्वधारमा उल्लेखीय विकास गरेको बताए । गाउँपालिकामा जनतालाई छिटो र छरितो सेवा दिनमा आफ्नो नेतृत्वले कुनै कसुर बाँकी नराखेको अध्यक्ष कार्कीले धारणा व्यक्त गरे । ‘जनप्रतिनिधि भनेका जनताका सेवक हुन्’ उनले भने, गाउँपालिकाका जनप्रतिनिधि जनताकेन्द्रित भई समर्पित भावले काम गर्दै आइरहेका छन् । जनताको आवश्यकतामा साथ दिन जनप्रतिनिधि हरदम तयार छन् । कार्यक्रमममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, गाउँपालिकाका सल्लाहकार राम कार्की, नेपाली काँग्रेसका महासमिति सदस्य शंकर रायमाझी, नेकपा एमालेका प्रदेश प्रतिनिधि श्रीकृष्ण आत्रेय,नेकपा समाजवादी रैनादेवी छहराका सचिव धनबहादुर रायमाझी, राप्रपाका गाउँपालिकाका प्रतिनिधि फर्सुराम पोखरेल, गाउँपालिकाका पूर्व प्रशासकिय अधिकृतहरु थानेश्वर पराजुली, इन्द्रा क्षेत्री लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

सोही अवसरमा जग्गा दाताहरु तुम कुमारी श्रेष्ठ, विष्णु कुमारी सूर्यवंशी,मिनराज पोखरेल र राधिका श्रेष्ठलाई सम्मान समेत गरिएको थियो । नवर्निमित भवनको १९ वटा सुविधा सम्पन्न कोठाहरु रहेको प्रमुख प्रशासकिय अधिकृत राजीव पन्थीले बताए । उनका अनुसार तीन तला रहेको भवनको पहिलो तलामा प्राविधिक, शिक्षा, कृषि, पशु, भेट्नरी, स्टोर, दोस्रो तलामा लेखा शाखा प्रमुख, लेखा शाखा, प्रमुख प्रशासकिय अधिकृत र इञ्जिनीयरहरुका कोठा रहेका छन् । त्यस्तै तेस्रो तलमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षका कोठा र सभाहल रहेका छन् । कार्यक्रम गाउँपालिका उपाध्यक्ष चेत कुमारी थापाको स्वागत, लेखा अधिकृत लिलामणी बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update